

लक्ष्मी भट्ट/अत्तरिया- सडक डिभिजन कार्यालय महेन्द्रनगर ले चिसापानी–गड्डाचौकी सडक खण्डभित्र सडक क्षेत्र अतिक्रमण गरी निर्माण गरिएका घर, टहरा तथा अन्य भौतिक संरचना हटाउन सार्वजनिक सूचना जारी गरेको छ ।



कार्यालयका अनुसार पटक–पटक सूचना जारी गर्दा पनि सडक क्षेत्र खाली नगरिएकाले सम्बन्धित सबैलाई जेठ १४ गतेभित्र अतिक्रमित क्षेत्र खाली गर्न निर्देशन दिइएको हो ।


कार्यालयले सडकको दायाँ–बायाँ २५ मिटर क्षेत्रलाई सडक अधिकार क्षेत्रभित्र पर्ने स्पष्ट गर्दै उक्त क्षेत्रमा कुनै पनि प्रकारका स्थायी वा अस्थायी संरचना निर्माण गर्न नपाइने जनाएको छ ।
सूचनामा तोकिएको समयभित्र संरचना तथा सामग्री नहटाइए सार्वजनिक सडक ऐन २०३१ बमोजिम कारबाही गरिने उल्लेख गरिएको छ । साथै अटेर गर्ने व्यक्तिका संरचना कार्यालयले हटाउने र त्यसमा लागेको सम्पूर्ण खर्चसमेत सम्बन्धित व्यक्तिबाट जरिमानासहित असुल गरिने चेतावनी दिइएको छ ।

