कैलालीमा कृषि आधुनिकीकरण कार्यक्रममा ४ हजार ८८९ किसान आबद्ध

कैलाली- कैलाली मा सञ्चालित राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रममा चार हजार ८८९ किसान आबद्ध भएका छन्। जिल्लामा सञ्चालनमा रहेका ‘गहुँ सुपरजोन’, ‘तेलहन जोन’, ‘धान जोन’ र ‘माछा जोन’ कार्यक्रममा किसान सहभागी भएका हुन्।

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ कैलालीका सूचना अधिकारी भीष्मराज रेग्मी का अनुसार चालु आर्थिक वर्ष २०८२/८३ मा तीन हजार ८१ महिला र एक हजार ८०८ पुरुष किसान कार्यक्रममा आबद्ध भएका छन्।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

यस वर्ष सहकारी, कृषि समूह, कृषि उद्यमी र समिति गरी ४६३ संस्था सूचीकृत भएका छन्। हाल गहुँ सुपरजोन सात हजार २०० हेक्टर, तेलहन जोन एक हजार ५०० हेक्टर, धान जोन एक हजार ५०० हेक्टर तथा माछा जोन ५०५ हेक्टर क्षेत्रफलमा सञ्चालन भइरहेको छ।

कार्यक्रम सञ्चालनपछि उत्पादनमा उल्लेखनीय वृद्धि भएको जनाइएको छ। गहुँको उत्पादकत्व प्रतिहेक्टर २.९ मेट्रिक टनबाट बढेर ४.६ मेट्रिक टन पुगेको छ। त्यसैगरी तोरीको उत्पादकत्व ०.९ बाट १.२३ मेट्रिक टन तथा धानको उत्पादकत्व ३.४७ बाट बढेर ५.३१ मेट्रिक टन प्रतिहेक्टर पुगेको छ।

त्यस्तै, कार्प जातका माछाको उत्पादकत्व ४.७ मेट्रिक टन प्रतिहेक्टर र पङ्गासियर्स माछाको ३६.२ मेट्रिक टन प्रतिहेक्टर रहेको जानकारी दिइएको छ।

कार्यक्रम अन्तर्गत किसानलाई ५० प्रतिशत अनुदानमा बीउ, विषादी तथा कृषि उपकरण वितरण गरिँदै आएको छ। जिल्लामा गहुँ सुपरजोन आर्थिक वर्ष २०७३/७४, तेलहन जोन २०७४/७५, धान जोन २०७८/७९ र माछा जोन २०८१/८२ मा सुरु गरिएको थियो।

Loading...