

अत्तरिया- गोदावरी नगरपालिका अन्तर्गतका बजार क्षेत्रमा गरिएको अनुगमनका क्रममा विभिन्न खाद्य पसल, डेरी, एग्रोभेट, होटल, मिठाई पसल तथा मासु पसलहरूमा खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी गम्भीर कैफियत भेटिएको छ ।


मिति २०८३ बैशाख १३ देखि १६ गतेसम्म नगरपालिकाको समन्वयमा गरिएको संयुक्त बजार अनुगमन टोलीमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय कैलाली, इलाका प्रहरी कार्यालय मालाखेती, स्थानीय उद्योग वाणिज्य संघ, होटल व्यवसायी संघ तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।



अनुगमनका क्रममा केही व्यवसायीहरूले सडेगलेका तथा फोहोर मिसिएका खाद्य सामग्री राखेको, तयारी अवस्थामा दूषित खाना बिक्रीका लागि राखिएको तथा म्याद गुज्रिएका खाद्य वस्तु भेटिएको पाइएको छ । साथै, केही व्यवसायीले मूल्य सूची समेत नराखी व्यवसाय सञ्चालन गरिरहेको पाइएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले मानव तथा पशुपन्छी उपभोग्य वस्तु बिक्री वितरण गर्दा पूर्ण सावधानी अपनाउन र मूल्य सूची अनिवार्य रूपमा राख्न सम्बन्धित सबै व्यवसायीलाई निर्देशन दिएको छ ।
नगरपालिकाले खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ विपरीत कार्य गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही प्रक्रिया अघि बढाइने चेतावनी समेत दिएको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज बिनाडीले जारी गरेको सूचनामा उपभोक्ताको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै सबै व्यवसायीलाई जिम्मेवार भएर व्यवसाय सञ्चालन गर्न आग्रह गरिएको छ ।

