

अत्तरिया- कैलालीको गोदावरी नगरपालिकामा दुई किशोरी मृत अवस्थामा फेला परेका छन्। गोदावरी नगरपालिका–५ गेटीमा १६ वर्षीया सृजना शाही र वडा नम्बर–८ स्याउलेमा १८ वर्षीया अस्मिता साउद आज मध्यान्ह आ–आफ्नै घरको कोठामा झुन्डिएको अवस्थामा मृत फेला परेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।


प्रहरीका अनुसार दुवै घटनास्थलमा प्रारम्भिक मुचुल्का तयार गरी शवलाई पोस्टमार्टमका लागि पठाइएको छ। घटनाको कारण खुल्न बाँकी रहेको र विभिन्न कोणबाट अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



सृजना माउन्ट सैपाल बोर्डिङ स्कुल र अस्मिता समैजी माध्यमिक विद्यालय, मजगाउँकी छात्रा हुन्। उनीहरू दुवै जना हालै सार्वजनिक भएको एसईई परीक्षामा सहभागी भएका थिए।
एसईई नतिजा सार्वजनिक भएको केही समयमै यस्तो दुःखद घटना सार्वजनिक भएपछि स्थानीय क्षेत्र शोकमा डुबेको छ। यद्यपि घटनाको वास्तविक कारणबारे प्रहरीले कुनै निष्कर्ष निकालिसकेको छैन।
प्रहरीले परिवार, विद्यालय र वरपरका व्यक्तिहरूसँग समेत सोधपुछ सुरु गरेको जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको छ।

