

अत्तरिया- कृष्णपुर नगरपालिका ले कृषकलाई आत्मनिर्भर र व्यावसायिक कृषि प्रणालीतर्फ आकर्षित गर्ने उद्देश्यसहित अनुदानमा कृषि सामग्री वितरण गरेको छ। नगरपालिकाले किसानको उत्पादन लागत घटाउने र उत्पादन वृद्धि गर्ने लक्ष्यका साथ यो कार्यक्रम सञ्चालन गरेको जनाएको छ।


नगरपालिकाका ९ वटै वडाका ५९ जना कृषकलाई स्प्रे ट्याङ्की तथा ३२ जना कृषकलाई तरकारी खेतीका लागि आवश्यक टनेल प्लाष्टिक वितरण गरिएको हो। उक्त सामग्री नगर प्रमुख हेमराज ओझा ले एक कार्यक्रमबीच हस्तान्तरण गरेका थिए।



कार्यक्रममा बोल्दै मेयर ओझाले मेहनती, लगनशील तथा व्यवसायिक कृषकलाई प्रोत्साहन गर्न नगरपालिकाले ५० प्रतिशत अनुदानमा कृषि उपकरण तथा सामग्री उपलब्ध गराउँदै आएको बताए। उनले हालसम्म नगरभित्रका ९१ जना कृषकलाई विभिन्न कृषि सामग्री तथा उपकरण वितरण गरिसकिएको जानकारी दिँदै आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम ल्याइने उल्लेख गरे।
नगरपालिकाको कृषि विकास शाखाका प्रमुख लालबहादुर धामी का अनुसार किसानलाई आधुनिक कृषि प्रविधिसँग जोड्ने, तरकारी खेती विस्तार गर्ने तथा उत्पादन वृद्धि गर्दै स्थानीय बजारलाई सुदृढ बनाउने उद्देश्यले यस्ता कार्यक्रम निरन्तर सञ्चालन हुँदै आएका छन्।
स्थानीय कृषकहरूले नगरपालिकाको सहयोगले खेतीपातीमा सहजता आएको तथा व्यावसायिक कृषि विस्तारमा थप उत्साह मिलेको बताएका छन्।

