

अत्तरिया- गोदावरी नगरपालिका वडा नं. ३, मालाखेतीस्थित ग्वासी मा.वि. र नवज्योति माध्यमिक विद्यालयमा लागूऔषध दुव्र्यसन सम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ।


बुधबार अत्तरिया मिडिया प्रा.लि. को आयोजना तथा वडा नं. ३ को सहयोगमा सम्पन्न उक्त कार्यक्रममा लागूऔषध न्यूनीकरण, युवालाई दुव्र्यसनबाट जोगाउने उपाय तथा पछिल्लो समय बढ्दो प्रयोग रोकथामका विषयमा सचेतना प्रदान गरिएको थियो।



कार्यक्रममा प्रहरी कार्यालय चौकिडाँडा बिटका प्रहरी सहायक निरीक्षक महेश सिंह भण्डारी मुख्य प्रशिक्षक तथा गोपाल जोशी सहायक प्रशिक्षकका रूपमा रहेका थिए। कार्यक्रममा कक्षा ९ देखि १२ सम्मका १६० भन्दा बढी विद्यार्थीहरूको सहभागिता रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष तेजराज अवस्थीले यस्ता जनचेतनामूलक कार्यक्रम विद्यार्थी जीवनका लागि अत्यन्त महत्वपूर्ण रहेको बताए। उनले प्राप्त ज्ञानलाई व्यवहारमा उतार्दै अनुशासित र जिम्मेवार नागरिक बन्न विद्यार्थीहरूलाई आग्रह गरे।
त्यसैगरी, ग्वासी मा.वि. की प्रधानाध्यापक शान्तिदेवी भट्टले कार्यक्रमको प्रशंसा गर्दै यसले विद्यार्थीहरूमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरिन्। उनले समाजमा हुने नकारात्मक गतिविधिबारे सम्बन्धित निकायलाई जानकारी गराउन समेत आग्रह गरिन्।





