


धनगढी- धनगढी उपमहानगरपालिकाले फोहोरमैला व्यवस्थापनलाई औपचारिक पाठ्यक्रममार्फत अध्ययन–अध्यापनमा समेट्ने नयाँ अभ्यास सुरु गरेको छ। काठमाडौँ विश्वविद्यालयको प्राविधिक सहयोग र सिटीइभिटीको स्वीकृतिमा तयार गरिएको पाठ्यक्रम अब तालिम कार्यक्रममार्फत लागू गरिएको हो।


आइतबार उपमहानगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले तालिमको औपचारिक उद्घाटन गरे। उनले धनगढीको यो अभ्यास अन्य शहरका लागि समेत उदाहरणीय हुने उल्लेख गर्दै फोहोरको पुनःप्रयोग र व्यवस्थापनमा ध्यान दिनुपर्ने बताए।



पाठ्यक्रममा फोहोरको वर्गीकरण, पुनःप्रयोग, विद्युतीय फोहोर संकलन, उपकरण प्रयोग तथा यस क्षेत्रबाट रोजगारी सिर्जनाजस्ता विषय समेटिएका छन्। हाल तालिम सञ्चालन सुरु भइसकेको छ।
उपप्रमुख कन्दकला कुमारी रानाले यस कार्यक्रमले सहरी सरसफाइ सुधार्नुका साथै जनचेतना बढाउने विश्वास व्यक्त गरिन्। प्राविधिक टोलीका अनुसार यसले दक्ष जनशक्ति उत्पादनमा समेत सहयोग पुर्याउनेछ।
धनगढीले हाल सूक्ष्म फोहोर वर्गीकरण र व्यवस्थापन गर्दै आएको छ भने अत्याधुनिक फोहोर व्यवस्थापन केन्द्र निर्माण अन्तिम चरणमा पुगेको जनाएको छ।





