शुक्लाफाँटा विस्थापितको समस्या समाधानका लागि सरकारद्वारा वास्तविक पीडित पहिचान प्रक्रिया अघि बढाइँदै





कञ्चनपुर- शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट विस्थापित भएका परिवारहरूको दीर्घकालीन समस्या समाधानका लागि सरकारले वास्तविक पीडितको पहिचान गर्ने प्रक्रिया अघि बढाउने भएको छ।


वन तथा वातावरण र कृषि तथा पशुपन्छी विकासमन्त्री गीता चौधरीले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका उच्च अधिकारीहरूसँग छलफल गर्दै विस्थापित परिवारको व्यवस्थापनलाई प्राथमिकतामा राख्ने बताएकी छन्। उनका अनुसार विगतका आयोगका सिफारिस, जग्गाधनी प्रमाणपत्र र अन्य प्रमाणलाई आधार बनाएर वास्तविक पीडितको पहिचान गरिनेछ।



छलफलमा निकुञ्ज प्रभावित परिवारहरूको अभिलेख सङ्कलन, उपलब्ध जग्गाको पहिचान तथा विवरण प्रमाणीकरण (भेरिफिकेसन) गर्ने विषयमा विशेष जोड दिइएको छ। साथै, तथ्यमा आधारित योजना निर्माण गरी चरणबद्ध रूपमा कार्यान्वयन गर्ने सहमति समेत भएको छ।
बैठकमा वन तथा वातावरण मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्मा, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. बुद्धिसागर पौडेल तथा भूमि व्यवस्था मन्त्रालयका सचिव मदन भुजेललगायतको सहभागिता थियो।
सरकारले लामो समयदेखि समाधानको पर्खाइमा रहेका विस्थापित परिवारहरूको समस्या अब प्राथमिकताका साथ अघि बढ्ने जनाएको छ।



