पुर्चौंडी इलाका प्रशासनमा प्रमुखमा खटाइए विष्ट, सेवा पुनः सुचारु हुने अपेक्षा

बैतडी- बैतडी जिल्लाको पुर्चौंडीस्थित इलाका प्रशासन कार्यालयमा लामो समयदेखि रहेको कार्यालय प्रमुखको अभाव अन्त्य भएको छ। प्रमुखविहीन अवस्थाका कारण प्रभावित हुँदै आएको सेवा प्रवाह अब पुनः सुचारु हुने अपेक्षा गरिएको छ।

गृह मन्त्रालयको सचिवस्तरको निर्णयअनुसार जिल्ला प्रशासन कार्यालय बैतडीमा कार्यरत नायब सुब्बा उत्तमबहादुर विष्टलाई इलाका प्रशासन कार्यालय पुर्चौंडीको प्रमुखको जिम्मेवारी दिइएको हो। उनलाई नियमित प्रमुख हाजिर नहुँदासम्म प्रचलित कानुनबमोजिम प्रशासनिक तथा आर्थिक कारोबार सञ्चालन गर्ने अधिकारसमेत प्रदान गरिएको छ।

Navadurga sun

बैतडीका प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईका अनुसार विष्टले आगामी सोमबारदेखि कार्यालयमा औपचारिक रूपमा सेवा सुरु गर्नेछन्। प्रमुख नहुँदा अवरुद्ध भएका सेवा अब नियमित हुने उनले बताए।

इलाका प्रशासन कार्यालयमा प्रमुखको अभावका कारण गत मंसिरदेखि नागरिकता वितरण, राष्ट्रिय परिचयपत्र तथा नाबालिग परिचयपत्रसम्बन्धी कार्य प्रभावित हुँदै आएका थिए। यसले स्थानीयवासीलाई सामान्य प्रशासनिक सेवाका लागि जिल्ला सदरमुकामसम्म धाउनुपर्ने बाध्यता सिर्जना गरेको थियो।

अब नयाँ प्रमुखको व्यवस्थासँगै ती सेवा पुनः सञ्चालनमा आउने र पुर्चौंडी क्षेत्रका नागरिकलाई सहजता हुने अपेक्षा गरिएको छ। स्थानीय तह नजिकैबाट सेवा प्राप्त हुने व्यवस्थाले समय र खर्च दुवै बचत हुने विश्वास गरिएको छ।

सरकारले सेवा प्रवाहलाई प्रभावकारी बनाउन स्थानीयस्तरमै प्रशासनिक संरचना सुदृढ गर्ने नीतिअनुरूप इलाका प्रशासन कार्यालयहरूलाई सक्रिय बनाउँदै आएको सन्दर्भमा पुर्चौंडीमा प्रमुख खटाइनु सकारात्मक रूपमा हेरिएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...