शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा वन्यजन्तु सप्ताह: बाह्रसिङ्गा संरक्षणमा जोड

कञ्चनपुर- शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा वन्यजन्तु सप्ताह विभिन्न जनचेतनामूलक तथा प्रवर्द्धनात्मक कार्यक्रमसहित सञ्चालन भइरहेको छ। ‘सुरक्षित मानिस, सुरक्षित वन्यजन्तुः जैविक विविधताको सदुपयोग, समृद्धिको सेतु’ भन्ने मूल नाराका साथ वैशाख १ देखि सप्ताह मनाइँदै छ। 

निकुञ्जका सहायक वार्डेन विनयकुमार झाले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्दै क्षति घटाउने र जैविक विविधताको दिगो उपयोगमार्फत समृद्धि हासिल गर्ने उद्देश्यका साथ कार्यक्रम भइरहेको बताए।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

उनका अनुसार, निकुञ्जको मुख्य कार्यालय मझगाउँमा सरसफाइ कार्यक्रमसँगै वन्यजन्तु, वातावरण तथा जैविक विविधताबारे सचेतना अभिवृद्धि गर्ने कार्यक्रम सञ्चालन गरिएको छ। स्थानीय समुदाय, विद्यार्थी र सरोकार भएका निकायको सहभागितामा संरक्षणसम्बन्धी जानकारी दिइएको छ।

निकुञ्जका रेञ्जर प्रयास केसीले सोमबार (वैशाख ७) पूर्वी सेक्टर अर्जुनीस्थित पूर्व–पश्चिम महेन्द्रराजमार्ग क्षेत्रमा सरसफाइ कार्यक्रम र वन्यजन्तु, जैविक विविधता र संरक्षणसम्बन्धी कार्यक्रम आयोजना गरी सप्ताह समापन गरिने बताए। वन्यजन्तु सप्ताहका अवसरमा निकुञ्जमा बाह्रसिङ्गा (स्वाम्प डियर) गणना कार्यक्रमसमेत सुरु गरिने उनले जानकारी दिए।

गणनाका क्रममा बाह्रसिङ्गाको सङ्ख्या, वासस्थान र आहाराको उपलब्धताबारे विस्तृत अनुगमन गरिने रेञ्जर केसीले बताए।

अघिल्लो गणनामा यहाँ बाह्रसिङ्गाको सङ्ख्या दुई हजार ३०३ रहेको पाइएको थियो। यसपटक संरक्षणका प्रयासलाई थप बढावा दिइएकाले त्यो सङ्ख्या वृद्धि भएको अनुमान गरिएको छ। नेपालमा सन् १९८० को दशकदेखि सुरु भएको संरक्षण अभियानबाट दुर्लभ वन्यजन्तुको संरक्षण र सङ्ख्या वृद्धिमा उल्लेखनीय सफलता हासिल भएको छ। यस्ता उपलब्धि सरकारी, सुरक्षा निकाय, स्थानीय समुदाय र संरक्षण साझेदारबीचको सहकार्यबाट सम्भव भएको निकुञ्ज व्यवस्थापनले जनाएको छ। रासस

Loading...