विज्ञापन बोर्डले नेपालमा प्रसारण हुने सबै श्रव्य, दृश्य तथा श्रव्यदृश्य विज्ञापन सामग्री प्रसारण गर्नुअघि अनिवार्य रूपमा बोर्डबाट परीक्षण गराई अनुमति लिनुपर्ने जनाएको छ। बोर्डको स्वीकृतिबिनै प्रसारण भएका, आवश्यक विवरण नसमेटिएका तथा भ्रामक र अतिरञ्जित विज्ञापनहरू फेला परेकाले यस्तो निर्देशन जारी गरिएको हो।
विज्ञापन (नियमन गर्ने) ऐन, २०७६, नियमावली, २०७७ तथा सम्बन्धित मापदण्डअनुसार विज्ञापन सामग्री परीक्षण तथा अनुमति दिने अधिकार बोर्डलाई रहेको छ। हालसम्म परीक्षण नगराई प्रसारण भइरहेका विज्ञापनहरू पनि तत्काल परीक्षण गराई कानुनी प्रक्रिया पूरा गर्न बोर्डले सम्बन्धित पक्षलाई निर्देशन दिएको छ।

बोर्डले प्रचलित कानुनविपरीत रहेका विज्ञापन सामग्री तत्काल हटाउन र कानुन उल्लङ्घन गरी विज्ञापन प्रसारण गरेमा प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनी दिएको छ।
