


अत्तरिया- कैलालीको गोदावरी नगरपालिका ले आगामी शैक्षिक सत्र २०८३ का लागि विद्यालय भर्ना अभियान तथा पठनपाठनको समयतालिका सार्वजनिक गरेको छ।


नगर कार्यपालिकाको बैठकले गरेको निर्णयअनुसार नगरभित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरूमा वैशाख महिनाको पहिलो सातादेखि नै शैक्षिक गतिविधि सञ्चालन गरिने भएको छ।



नगरपालिकाले जारी गरेको सूचनाअनुसार विद्यार्थी भर्ना अभियान वैशाख ७ गतेदेखि सुरु हुनेछ। विद्यालय उमेर समूहका सबै बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउने उद्देश्यसहित भर्ना अभियान सञ्चालन गर्न लागिएको जनाइएको छ।
त्यसैगरी, नियमित पठनपाठन वैशाख १५ गतेदेखि सुरु हुने निर्णय गरिएको छ। नगर प्रमुख वीरेन्द्र भट्ट द्वारा हस्ताक्षरित सूचनामा नगरभित्रका सबै विद्यालयलाई उक्त निर्णय कार्यान्वयन गर्न निर्देशन दिइएको छ।
नगरपालिकाले नयाँ शैक्षिक सत्रको तयारी पूरा गर्न विद्यालयहरूलाई निर्देशन दिँदै अभिभावकहरूलाई पनि बालबालिकालाई समयमै विद्यालय पठाउन आग्रह गरेको छ।






