धनगढीको एक घरमा नगद र सुनका गहना चोरी




धनगढी, १ कार्तिक– कैलालीको धनगढीस्थित एक घरबाट नगद र सुनका गहना चोरी भएको छ। धनगढी उपमहानगरपालिका वडा नं. ४ भगवती टोलका स्थानीय इन्द्रबहादुर सिंहको घरमा चोरी भएको हो।



सिंहले २ लाख ३० हजार रुपैयाँ नगद र करिब २० तोला सुनका गहना चोरी भएको भन्दै कैलाली गाउँमा रहेको प्रहरी चौकीमा निवेदन दिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए।


तेक्वान्दो संघ कैलालीका सचिव रहेका सिंहले आफूहरु दशैं मनाउन पुर्ख्यौली घर डोटी गएका बेला चोरी भएको बताएका छन्। सिंहकाअनुसार ३ तोला बराबरका छड्के तिलहरी २ वटा, ३ तोला बराबरकै २ वटा मंगलसुत्र, ३ तोला बराबरकै २ वटा हार, २ तोला बराबरको २ वटा सिक्री, २ तोला बराबरका २ वटा मंगलसुत्र, ३ तोला बराबरका ६ वटा औंठी, ५० ग्राम बराबरको औंठी लगायतका गरगहना चोरी भएको सिंहले बताए ।



