प्रेमीसँग मिलेर श्रीमानको हत्या गर्ने महिलासहित २ जना सार्वजनिक




धनगढी, ३१ असोज- कैलालीमा प्रेमीसँग मिलेर श्रीमानको हत्या गर्ने महिलासहित २ जनालाई प्रहरीले सार्वजनिक गरेको छ।
उनीहरु दुवै जना मिलेर अमृताका श्रीमान समेत रहेका २५ वर्षीय रमेश चौधरीको हत्या गरेको पाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीले जानकारी दिए ।
हत्या अभियोगमा पक्राउ परेका धनगढी उपमहानगरपालिका-७ बेलीकी २७ वर्षीया अमृता चौधरी र उनका प्रेमी २९ वर्षीय विष्णु चौधरीलाई जिल्ला प्रहरी कार्यालय कैलालीले सार्वजनिक गरेको हो।


अमृता र विष्णुबीच केही वर्षदेखि प्रेम सम्बन्ध रहेको पाइएको बताउँदै एसपी अधिकारी शुक्रबार राति दुवै जनालाई रमेशले आपत्तीजनक अवस्थामा भेटेपछि घटना भएको जनाए। ‘रमेश चौधरीले आफ्नो घर नजिकै परालको थुप्रोमा दुवै जनालाई राति आपत्तीजनक अवस्थामा देखेको रहेछ।



सो क्रममा आवेगमा आएर विष्णुमाथि कुटपिट गरेको देखिन्छ,’ एसपी अधिकारीले भने, ‘सोही क्रममा विष्णुले प्रतिकार गरेर अमृतासँग मिलेर खेतमा घाँटी थिचेर हत्या गरेको पाइएको छ ।’
उनीहरुले रमेशको हत्या गरिसकेपछि राति नै शव बोकेर खुटिया नदी नजिकैको चौरमा फालेर घटनाबारे कसैलाई नबताउने शर्तमा दुवै जना घरतर्फ लागेको अनुसन्धानका क्रममा पाइएको उनले बताए।
मृतक चौधरीका तीन वर्षीया छोरा छन्। यसअघि प्रहरीले हत्यामा संलग्न भएको आशंकामा अन्य दुईजनालाई समेत पक्राउ गरेको थियो। तर उनीहरुको संलग्नता नदेखिएपछि छाडिएको प्रहरीले जनाएको छ ।



