

अत्तरिया- कैलालीको चौकीडाँडा–फल्टुडे सडकखण्ड स्थानीयले अवरुद्ध गरेका छन्। गोदावरी नगरपालिका–३ मालाखेतीका बासिन्दाले सडक निर्माणमा भइरहेको ढिलासुस्तीका कारण धुलो र प्रदूषणले जनजीवन प्रभावित भएको भन्दै सडकमा ढुंगामुढा राखेर बन्द गरेका हुन्।



स्थानीयका अनुसार लामो समयदेखि सडक अलपत्र पर्दा जनस्वास्थ्यमा प्रत्यक्ष असर परेको छ। निर्माण कम्पनी एडभेञ्चर थेगिम जेभी र तेडी निर्माण सेवाको लापरबाहीका कारण काम अघि बढ्न नसकेको उनीहरूको आरोप छ।


यसअघि पनि वडा अध्यक्षहरू स्वयं सडकमै बसेर विरोध जनाएका थिए र ठेकेदारसँग तोकिएको म्यादभित्र काम सम्पन्न गर्ने सम्झौता गरिएको थियो। तर, पटक–पटक म्याद थप भए पनि निर्माण कार्य अझै पूरा हुन सकेको छैन।
सुदूरपश्चिम प्रदेश गौरवको योजनाअन्तर्गत पर्ने यो सडक निर्माण कार्य २०७७ सालमा सुरु भए पनि अझै सम्पन्न नहुँदा स्थानीय आक्रोशित बनेका छन्।