होटल सञ्चालकमाथि लुटपाट र कुटपिट गर्ने ३ जना पक्राउ





अत्तरिया, ३० असाेज– कैलालीमा होटल सञ्चालकमाथि कुटपिट गर्दै गहना लुटपाट गरिएको छ। जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर २ मा होटल कान्छी सञ्चालन गर्दै आएकी ३४ वर्षीय रितु थापामाथि कुटपिट भएको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकेन्द्र गुरुका अनुसार शुक्रबार राति मादक पदार्थ सेवन गरेर आएका तीन जना युवकले कुटपिट गरेको आरोप लागेको छ। ‘गोदावरी नगरपालिका वडा नम्त्रर ३ का २८ वर्षीय ललित जोशी, २५ वर्षीय आशिष पाण्डेय र २६ वर्षीय नविन जोशीलाई कुटपिटको आरोपमा पक्राउ गरिएको छ,’ गुरुले भने, ‘घटनाबारे अनुसन्धान भइरहेको छ।’ इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार ठाडो निवेदनमा गहना लुटपाट पनि भएको उल्लेख छ।



