


धनगढी- यातायात व्यवस्था कार्यालय, धनगढीले चालु आर्थिक वर्ष २०८२/०८३ मा हालसम्म रु ४८ करोड १९ लाख ५१ हजार राजस्व सङ्कलन गरेको छ। कार्यालय प्रमुख भुवन जोशीका अनुसार सबैभन्दा बढी सवारीसाधन करबाट रु ३७ करोड ८३ लाख र सबैभन्दा कम व्यावसायिक रजिष्ट्रेसन दस्तुरबाट रु १२ लाख सङ्कलन भएको हो।



चालक अनुमतिपत्र, सवारी दर्ता किताब दस्तुर, लाइसेन्स नवीकरण, जरिवाना, जाँचपास र लाइसेन्स प्रमाणीकरणबाट रु ९ करोड ३५ लाख ८२ हजार तथा यातायात क्षेत्रका अन्य आम्दानी स्रोत—लगतकट्टा, प्रदूषण शुल्क र रुट ईजाजत—बाट रु ८८ लाख २६ हजार राजस्व सङ्कलन गरिएको छ।


गत आर्थिक वर्ष २०८१/०८२ मा कार्यालयले रु ७५ करोड ५६ लाख २७ हजार राजस्व सङ्कलन गरेको थियो। कार्यालयको बेरुजु रकम हाल शून्य रहेको कार्यालयका तथ्याङ्कले देखाउँछ, जसले पारदर्शिता र आर्थिक व्यवस्थापनको राम्रो चित्र प्रस्तुत गरेको छ।





