बझाङमा निर्वाचन तयारी तीव्र, २ हजार ८८३ जना सुरक्षाकर्मी परिचालन गरिँदै

बझाङ- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बझाङमा प्रशासन र निर्वाचन संयन्त्रले तयारी तीव्र पारेका छन्। जिल्ला निर्वाचन कार्यालयका प्रमुख वसन्तबहादुर धानुकका अनुसार मतदाता शिक्षा, जनशक्ति व्यवस्थापनदेखि सुरक्षा रणनीतिसम्मका अधिकांश कार्य अन्तिम चरणमा पुगेका छन्।

निर्वाचनका लागि १ हजार १ सय ३४ जना कर्मचारी खटनपटन भइसकेको र उनीहरूलाई आवश्यक तालिम दिने तयारी भइरहेको धानुकले बताए। फागुन ३ गतेदेखि जिल्लाका १२ स्थानीय तहका ९४ वडामा स्वयंसेवक परिचालन गरी मतदाता शिक्षा कार्यक्रम सञ्चालन भइरहेको छ। मतदातालाई मतदान प्रक्रियाबारे स्पष्ट जानकारी दिन यो कार्यक्रम सञ्चालन गरिएको हो।

godawari10 Mahila hinsa
Navadurga sun

सुरक्षा व्यवस्थातर्फ यसपटक २०७९ सालको निर्वाचनभन्दा थप कडाइ गरिएको प्रशासनको दाबी छ। प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरी र जिल्ला प्रहरी कार्यालयका डीएसपी खगेन्द्र धमलाले विगतका कमजोरी नदोहोरिने गरी सुरक्षा योजना तयार गरिएको जानकारी दिएका छन्।

Dadeldhura hospital

निर्वाचन सुरक्षाका लागि ७ सय ११ जना नेपाल प्रहरी, ४ सय ८ जना नेपाली सेना, १ सय ८४ जना सशस्त्र प्रहरी र १ हजार ५ सय ८० जना निर्वाचन प्रहरी गरी कुल २ हजार ८ सय ८३ जना सुरक्षाकर्मी परिचालन गरिने भएको छ।

जिल्लामा कुल १ लाख २६ हजार ९ सय ३ मतदाता रहेका छन्, जसमा ६२ हजार २ सय ८९ पुरुष र ६४ हजार ६ सय १४ महिला मतदाता छन्। निर्वाचनका लागि २ अस्थायी मतदान केन्द्र, १ सय ८९ स्थायी मतदान केन्द्र र १ सय ३७ मतदानस्थल तोकिएका छन्।

मतदानस्थलमध्ये ३ सामान्य, ४९ संवेदनशील र ८५ अति संवेदनशील श्रेणीमा वर्गीकरण गरिएको छ। जिल्ला कारागार र जिल्ला समन्वय समितिको कार्यालयमा अस्थायी मतदान केन्द्र स्थापना गरिनेछ।

मुख्य निर्वाचन अधिकृत सुवर्णमान बनेपालीका अनुसार जिल्लामा ५१ प्रकारका निर्वाचन सामग्री पुगिसकेको छ र केही दिनभित्र मतदानस्थलमा सामग्री ढुवानी तथा व्यवस्थापन गरिनेछ। प्रशासनले निर्वाचन स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा सम्पन्न हुने विश्वास व्यक्त गरेको छ।

Loading...