लक्ष्मी भट्ट/अत्तरिया- ७६ औँ राष्ट्रिय प्रजातन्त्र दिवस २०८२ को अवसरमा श्री प्रतिभा सामुदायिक पुस्तकालयको आयोजनामा तथा जनकल्याण इङ्गलिस सेकेण्डरी बोर्डिङ्ग स्कूल तेघरिको प्रायोजनामा विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । कार्यक्रम गोदावरी नगरपालिकास्थित प्रतिभा पुस्तकालयको सभाहलमा कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरूको सहभागितासहित भव्य रूपमा आयोजना गरिएको हो ।


प्रतियोगितामा २२ विद्यालयका २२ जना विद्यार्थी सहभागी भएका थिए । कार्यक्रम पुस्तकालयका अध्यक्ष भूपेश जोशीको अध्यक्षतामा सञ्चालन भएको थियो । प्रमुख अतिथिको रूपमा कैलाली बहुमुखी क्याम्पसका सहप्राध्यापक डा. रामचन्द्र बिनाडी रहनु भएको थियो ।


विशिष्ट अतिथिहरूमा कार्यक्रमका प्रायोजक तथा जनकल्याण बोर्डिङ स्कुलका यज्ञराज हमाल, साथै निर्णायक मण्डलमा ऐश्वर्य बहुमुखी क्याम्पसका सहप्राध्यापक डा. तुलसी शर्मा, जिल्ला प्रशासन कार्यालयका तेजपुरुष र कैलाली बहुमुखी क्याम्पसका सीताराम भट्ट रहेका थिए । स्वागत मन्तव्य पुस्तकालयका उपाध्यक्ष नरेन्द्र राज शर्माले व्यक्त गरेका थिए ।

प्रतियोगितामा उत्कृष्ट चार जनालाई प्रमाणपत्र, सम्मानपत्र तथा नगद पुरस्कार प्रदान गरिएको छ । प्रथम, द्वितीय, तृतीय र सान्त्वना क्रमशः रु. ३५००, २५००, १५०० र १००० प्रदान गरिएको आयोजकले जनाएको छ ।
वक्ताहरूले प्रजातन्त्र जनताद्वारा निर्वाचित प्रतिनिधिहरूले सञ्चालन गर्ने शासन प्रणाली भएको उल्लेख गर्दै गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य र मनोरञ्जनजस्ता आधारभूत अधिकार सुनिश्चित नभएसम्म प्रजातान्त्रिक संघर्ष जारी रहने धारणा व्यक्त गरेका थिए । २००७ साल फागुन ७ गते राणा शासनको अन्त्य भई प्रजातन्त्र स्थापना भएको ऐतिहासिक दिनको सम्झनामा प्रत्येक वर्ष प्रजातन्त्र दिवस मनाइँदै आइएको छ ।
विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगितामा मोहना मन्टेस्वरी एकेडेमी मालाखेतीकी कर्मासिखा जोशी प्रथम
कैलालीको अत्तरियामा सम्पन्न विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगितामा मोहना मन्टेस्वरी एकेडेमी मालाखेतीकी कर्मासिखा जोशी प्रथम भएकी छन् । त्यसैगरी दोस्रो स्थान शैलेश्वरी मावि बडेहाकी निशा नेपालीले हासिल गरिन् ।
त्यस्तै, तृतीय स्थान खप्तड विद्या निकेतनकी आरती कुँवरले प्राप्त गरिन् भने सान्त्वना पुरस्कार सैनिक आवासीय महाविद्यालय तेघरीकी रोजिका जेठाराले हात पारिन् ।





