

बझाङ- शुक्रबार बिहान बझाङ सदरमुकाम चैनपुरमा भएको आगलागीबाट चार वटा उद्योग, होटल र पसल जलेर पूर्णरूपमा ध्वस्त भएका छन्। आगलागीबाट करिब १ करोड ८१ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।


जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार आगलागीबाट किशोर खड्काको सिरक–डसना उद्योगमा सबैभन्दा बढी क्षति पुगेको छ। उक्त उद्योगमा रहेका लत्ताकपडा, धनमाल तथा मेसिन उपकरण गरी करिब १ करोड ५६ लाख ६६ हजार रुपैयाँ बराबरको सामग्री जलेको प्रहरीले जनाएको छ।



सिरक उद्योगबाट सल्किएको आगोले नजिकै रहेका हिरादेवी कठायतको पसलमा १५ लाख, मेनुका खत्रीको होटलमा ५ लाख र चिरन परियारको पसलमा ५ लाख रुपैयाँ बराबरको क्षति पुगेको छ।
आगलागीको कारण खुल्न नसके पनि बिहानको चिसोबाट जोगिन बालेको आगोबाट घटना भएको अनुमान गरिएको छ। प्रहरीका अनुसार जाडो मौसममा जथाभावी आगो बाल्दा यस्ता घटना बढ्ने जोखिम रहेको छ।
बिहान करिब ९ः३० बजे आगलागी भएपछि स्थानीय, नेपाली सेना र प्रहरीको सहयोगमा झण्डै एक घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो। आगो अन्यत्र फैलिन नदिन छेउछाउका टहराहरू हटाइएको थियो।
तर, आगलागी भएको लामो समयसम्म दमकल नआइपुगेको भन्दै स्थानीयले गुनासो गरेका छन्। समयमै दमकल पुगेको भए क्षति कम हुने स्थानीयको भनाइ छ। यसअघि पनि यस्तै घटनामा दमकल ढिलाइ हुने गरेको भन्दै नगरपालिकाको तयारीप्रति प्रश्न उठाइएको छ।

