

धनगढी- सुदूरपश्चिम प्रदेशको धनगढीमा अवस्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका पहिलो उपकुलपति र रजिष्ट्रार नियुक्तिका लागि नाम सिफारिस गरिएको छ।


उपकुलपति तथा रजिष्ट्रार छनोट तथा सिफारिस समितिका संयोजक जयराज अवस्थीका अनुसार उपकुलपतिका लागि एक जना र रजिष्ट्रारका लागि तीन जनाको नाम सहकुलपति तथा शिक्षामन्त्री महावीर पुनसमक्ष सिफारिस गरिएको हो। विश्वविद्यालय ऐनअनुसार सभा बैठक डाकेर सिफारिसमध्येबाट एक–एक जना नियुक्त गरिनेछ। सिफारिसमा परेकाहरूको नाम भने सार्वजनिक गरिएको छैन।



उपकुलपतिका लागि सुरुमा दुई पटक सूचना जारी गर्दा पनि आवेदन नपरेपछि समितिले तेस्रो पटक सूचना प्रकाशन गरेको थियो। त्यस क्रममा दुई जनाले आवेदन दिएका थिए। तर, एक जनाको आवेदन प्रक्रिया पूरा नभएकाले अस्वीकृत भएको र एक जनाको मात्र नाम सिफारिस गरिएको अवस्थीले जानकारी दिए।
रजिष्ट्रार पदका लागि भने १० जनाले आवेदन दिएका थिए। तीमध्ये सात जनालाई सर्टलिस्ट गरी अन्तर्वार्ता लिइएको थियो। सर्टलिस्टमा कञ्चनपुरका खेमराज जोशी र डमरुप्रसाद पनेरु, बैतडीका गोविन्दसिंह विष्ट र भीमबहादुर चन्द, बझाङका डबलबहादुर धामी तथा कैलालीका पदमराज जोशी र शिवप्रसाद सापकोटा परेका थिए। अन्ततः तीमध्ये तीन जनाको नाम सिफारिस गरिएको हो।
गत असारमा विश्वविद्यालयसम्बन्धी ऐन संसद्बाट पारित भएपछि सरकारले पदाधिकारी नियुक्तिको प्रक्रिया अघि बढाएको हो। पदाधिकारी नियुक्ति सम्पन्न भएपछि विश्वविद्यालयले सुदूरपश्चिम प्रदेशमा चिकित्सा शिक्षा सञ्चालन गर्ने तयारी अघि बढाउने लक्ष्य लिएको छ।

