

कञ्चनपुर- कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा सञ्चालन गरिएको एक दिने आँखा शिविर मार्फत ६ सय ७८ जनाले उपचार सेवा प्राप्त गरेका छन् । नेपाल नेत्रज्योति संघ, गेटा आँखा अस्पताल, बेलडाँडी गाउँपालिका र रुईत फाउन्डेशनको सहयोगमा मंसिर २० गते रौलेश्वर जनता बहुमुखी क्याम्पसमा शिविर सम्पन्न भएको हो ।



शिविरमा परिक्षणपछि मोतिबिन्दु भएका १०४ जनालाई निःशुल्क शल्यक्रियाका लागि गेटा आँखा अस्पताल पठाइएको छ । सोही शिविरमा २०३ जनालाई निःशुल्क चश्मा वितरण, अन्य बिरामीलाई आवश्यक औषधि र सामान्य उपचार सेवा प्रदान गरिएको अस्पतालले जनाएको छ ।


उपचारका लागि अस्पताल पुग्न कठिन हुने तथा आर्थिक अभावका कारण सेवा लिन नसक्ने स्थानीयका लागि शिविर विशेषरूपमा लाभदायक भएको बताइएको छ । गेटा आँखा अस्पतालका बाह्य कार्यक्रम प्रमुख तथा वरिष्ठ नेत्र अधिकृत रमेश चन्द्र भट्टको नेतृत्वमा गेटा आँखा अस्पताल र आँखा अस्पताल महेन्द्रनगरका ११ जनाको टोलीले सेवा प्रदान गरेको थियो ।
शिविरको सफलतामा बेलडाँडी गाउँपालिका, जनप्रतिनिधि, कर्मचारी, महिला स्वास्थ्य स्वयंसेविका तथा नेपाल प्रहरीले सक्रिय भूमिका खेलेको आयोजकले जनाएको छ । गेटा आँखा अस्पतालले प्रदेशभर ९ जिल्लामा २९ शाखामार्फत नियमित सेवा दिँदै आएको र वर्षमा ५० भन्दा बढी स्थानमा आँखा शिविर सञ्चालन गर्दै आएको अस्पतालले जनाएको छ ।