कैलालीमा मलको अभाव तीव्र, किसान रातभर लाइनमा बस्न बाध्य

धनगढी- जिल्लाभर हिउँदेबालीको सिजन सुरु भइरहेका बेला आवश्यक रासायनिक मल (युरिया) अभाव हुँदा किसानहरू गम्भीर समस्यामा परेका छन्। मल नपाएर एक बोरा पाउन समेत किसानहरू रातभर जाग्राम बसेर लाइनमा उभिन बाध्य भएका छन्। तर रातभर कुर्दा पनि धेरै किसानहरू खाली हातै फर्किनुपर्ने अवस्था छ।

सबैभन्दा ठूलो समस्या भजनी नगरपालिकामा देखिएको छ, जहाँ कृषियोग्य जमिनको संख्या धेरै छ र गहुँ तथा तरकारी जस्ता हिउँदेबालीमा अहिले नै मल हाल्ने उपयुक्त समय हो। तर मल नपाउँदा खेती प्रभावित हुने किसानहरूको चिन्ता बढ्दो क्रममा छ।

Navadurga sun
Godawari sandesh

भजनीका किसान हरि प्रसाद चौधरी भन्छन्, “हरेक वर्ष जस्तै यो वर्ष पनि मलको अभाव दोहोरियो। राति १२ बजेदेखि लाइन बस्दा पनि बिहान हात खाली हुन्छ। खेती नलगाउने कि मलका लागि यति सास्ती खेप्ने?”

Dadeldhura hospital

किसानहरूको गुनासो अनुसार, एकातिर धान बिक्री गर्न हप्तौँसम्म लाइन बस्नुपर्ने बाध्यता छ भने अर्कोतिर समयमै गहुँ छर्न नपाउँदा उनीहरू थप समस्यामा परेका छन्। अर्का किसान भरत चौलागाईं भन्छन्, “मल सहजै नपाउँदा उत्पादन घट्ने त छँदैछ, किसानको लागत पनि बढ्छ। सरकारले वितरण प्रणाली सुधारेर सहज पहुँच बनाउनुपर्छ।”

जिल्लामा हाल साल्ट ट्रेडिङ कर्पोरेशन र कृषि सामग्री कम्पनी लिमिटेड (AICL) मार्फत मल वितरण हुँदै आएको छ। साल्ट ट्रेडिङले चाँडै वितरण सुरु गर्ने बताएको छ भने AICL का अधिकारीहरू सरकारी कोटा सीमित भएकै कारण मागअनुसार मल आपूर्ति गर्न सकिने अवस्था नभएको बताउँछन्।

AICL प्रदेश कार्यालय धनगढीका प्रमुख नवल सिंह बोगटीले माग धेरै र आपूर्ति कमजोर भएकाले समस्या आएको स्वीकार गर्दै भने, “हामीलाई आउने मल सीमित छ, तर किसानको माग अत्यधिक छ। त्यसैले सबैलाई एकैपटक उपलब्ध गराउन कठिन भइरहेको हो।”

विगत वर्षहरूको तुलनामा यस वर्ष मल छिट्टै वितरण सुरु भए पनि माग अत्यधिक भएकाले आपूर्ति अपर्याप्त रहेको कम्पनीको भनाइ छ। किसानहरूले सरकारी कोटा पुनःव्यवस्थित गरी वास्तविक आवश्यकताअनुसार पर्याप्त मल उपलब्ध गराउन माग गरेका छन्।

यदि अभावको समस्या यस्तै रहिरहे, हिउँदेबालीको उत्पादनमा ठूलो नकारात्मक असर पर्ने र किसानको आर्थिक अवस्था झनै कमजोर हुने चिन्ता व्यापक बनेको छ।

Loading...