मनसुन सक्रिय बन्दै, यो सातादेखि देशभर वर्षाको सम्भावना

मनसुन क्रमशः सक्रिय हुन थालेसँगै यो सातादेखि देशका अधिकांश स्थानमा वर्षा हुने र अत्यधिक गर्मीबाट राहत मिल्ने सम्भावना रहेको मौसमविदहरूले बताएका छन्। विशेषगरी सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा वर्षासँगै तापक्रम घट्ने अपेक्षा गरिएको छ।

जल तथा मौसम विज्ञान विभागका मौसमविद रोजन लामिछानेका अनुसार लुम्बिनी प्रदेशको तराईमा मंगलबारदेखि वर्षा सुरु भई बुधबार र बिहीबार धेरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। सुदूरपश्चिम प्रदेशमा पनि बुधबार र बिहीबार केही स्थानमा मध्यम तथा एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

Navadurga sun

लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा पनि मध्यम वर्षा हुने तथा केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। पूर्वी नेपालमा पश्चिमको तुलनामा बढी वर्षा हुने अनुमान गरिएको छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा बुधबार र बिहीबार मध्यम वर्षा हुने सम्भावना छ भने कोशी, मधेश र बागमतीका तराईका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने मौसमविदहरूले बताएका छन्।

मौसमविद उज्ज्वल उपाध्यायका अनुसार मंगलबारदेखि मेचीदेखि नारायणी नदी क्षेत्रसम्म राम्रो वर्षा हुने सम्भावना छ भने बुधबार काठमाडौं उपत्यकासहित अन्य क्षेत्रमा पनि पर्याप्त वर्षा हुने देखिएकाले धान रोपाइँका लागि अनुकूल वातावरण बन्नेछ।

मौसमविद डा. धर्मराज उप्रेतीका अनुसार केही दिनदेखि कमजोर रहेको मनसुन असार १६ देखि १८ गतेसम्म थप सक्रिय हुने र मध्यमदेखि भारी वर्षा गराउने सम्भावना छ। यसले धान रोपाइँमा समेत सहजता ल्याउने अपेक्षा गरिएको छ।

यस वर्ष मनसुन औसतभन्दा ६ दिन ढिलो अर्थात् असार ५ गते कोशी प्रदेशबाट नेपाल प्रवेश गरेको थियो। असार ८ गतेसम्म लुम्बिनीको पूर्वी भूभागसम्म फैलिएको मनसुन केही दिन निष्क्रिय रहँदा पर्याप्त वर्षा हुन सकेको थिएन। शनिबार बाँकेको बैजापुरमा अधिकतम तापक्रम ४०.१ डिग्री सेल्सियस मापन भएको थियो।

मौसमविदहरूले यो साताको वर्षाले गर्मीबाट राहत मिल्नुका साथै खेतीपातीका लागि आवश्यक आकाशेपानी उपलब्ध गराउने विश्वास व्यक्त गरेका छन्। यद्यपि यस वर्ष मनसुन अवधिभर औसतभन्दा कम वर्षा र बढी गर्मी हुने प्रक्षेपण भने यथावत् रहेको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...