

अत्तरिया- कैलालीको अत्तरियामा पुस ९ गतेदेखि १९ गतेसम्म भव्य सृजनशील गोदावरी सांस्कृतिक महोत्सव हुने भएको छ । सृजनशील युवा क्लबले आइतबार पत्रकार सम्मेलन गर्दै महोत्सवको औपचारिक घोषणा गरिएको हो । क्लबका अनुसार यो वर्षको महोत्सवलाई साँस्कृतिक, मनोरञ्जनात्मक र आर्थिक गतिविधिसँग जोडिएर अझ आकर्षक बनाइनेछ ।


क्लबका अध्यक्ष नर बहादुर राईले महोत्सव अत्तरियाको पूर्व–रोडस्थित खुल्ला चौरमा आयोजना हुने जानकारी दिए । सबैको सहभागिता वाढोस् भन्ने उद्देश्यले विद्यार्थीका लागि ५० रुपैयाँ र अन्य दर्शकका लागि १०० रुपैयाँ टिकट दर तोकिएको छ ।



मुख्य प्रायोजक भने अझै टुंगो नलागे पनि स्थानीय संस्था र व्यवसायीसँग सकारात्मक छलफल भइरहेको अध्यक्ष राईले बताए । महोत्सवमा राष्ट्रिय तथा स्थानीय चर्चित कलाकारहरूको प्रस्तुति, परम्परागत झल्किने सांस्कृतिक कार्यक्रम, हस्तकला, स्थानीय उत्पादन र कला–संस्कृतिका प्रदर्शनी लगायत विविध आकर्षण रहनेछ । यसले स्थानीय पर्यटन, व्यापार र सांस्कृतिक पहिचान प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने आयोजकको विश्वास छ ।
“यो महोत्सव हाम्रो पहिचान, संस्कृतिको संरक्षण र स्थानीय विकासमा ठूलो टेवा पुग्ने कार्यक्रम हो,” अध्यक्ष राईले पत्रकार सम्मेलनमा भने ।
सृजनशील युवा क्लबले २०६६ देखि २०७१ सम्म निरन्तर महोत्सव आयोजना गर्दै आएको थियो । २०७२ मा क्लबले कार्यक्रम अत्तरिया उद्योग वाणिज्य संघलाई हस्तान्तरण गरे पनि निरन्तरता नदिँदा पुनः क्लबले नै महोत्सव पुनर्जीवित गर्ने निर्णय गरेको हो ।