


धनगढी- बाटोमा अचेत अवस्थामा भेटिएका कञ्चनपुरका नरेश सुनारको धनगढीस्थित माया मेट्रो अस्पतालले निःशुल्क उपचार गरेको छ ।



शनिवार साँझ कृष्णपुर नगरपालिका–२, वाणीमा सुनार अचेत अवस्थामा फेला परेका थिए । उनलाई प्राथमिक उपचारका लागि वाणी अस्पताल लगिएको र त्यहाँबाट थप उपचारका लागि माया मेट्रो अस्पताल, धनगढीमा पुर्याइएको थियो । अस्पतालका पिआर म्यानेजर जगत महतका अनुसार सुनारलाई तीन दिनसम्म आईसीयूमा राखेर उपचार गरिएको थियो ।


उपचारका क्रममा उनको परिवार सम्पर्कमा नआएको र आर्थिक अवस्था कमजोर रहेको पाइएकोले अस्पतालले सामाजिक उत्तरदायित्वअन्तर्गत सम्पूर्ण उपचार निःशुल्क गरेको हो ।
म्यानेजर महतका अनुसार, उपचारपछि स्वास्थ्यमा सुधार आएपछि सोमवार अस्पतालले सुनारलाई डिस्चार्ज गरी अस्थायी ट्राफिक प्रहरी कार्यालय, चटकपुरलाई जिम्मा लगाइएको छ ।





