बैतडीको दोगडाकेदारमा कात्तिक १७ देखि हुनेसञ्चालन हुने रामलीला महायज्ञको तयारी अन्तिम चरणमा

बैतडी- संस्कृति संरक्षणका लागि बैतडीको दोगडाकेदारमा यही कात्तिक १७ गतेदेखि सञ्चालन हुने रामलीला महायज्ञको तयारी अन्तिम चरणमा पुगेको छ। दोगडाकेदार सांस्कृतिक समाजद्वारा आयोजना गरिने उक्त रामलीला श्रीकोट बहुमुखी क्याम्पसको प्राङ्गणमा हुनेछ।

सांस्कृतिक समाजका सदस्य एवं श्रीकोट बहुमुख्री क्याम्पसका प्रमुख दानसिंह कार्कीले रामलीलाको तयारी अन्तिम चरण पुगेको जनाउँदै कामलाई तीव्रता दिइएको बताए। उनका अनुसार महायज्ञमा अभिनय गर्ने कलाकारका लागि तालिमसहित अन्य व्यवस्थापनको तयारी भइरहेको छ।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

उनले भने, “धर्म संस्कृतिको जगेर्ना गर्न, युवापिँढीलाई अनुशासनको ज्ञान दिन तथा भगवान् रामको जीवनीलाई नयाँपिँढीमा बाँड्न रामलीला आयोजना गरिएको हो। मार्यादा पुरुषोत्तम रामचन्द्र भगवान्को जीवनगाथामा आधारित नाटक भएकाले यसबाट सनातन हिन्दूधर्म र सत्यताको पाठकाबारेमा पनि सिकाइ हुनेछ।” कात्तिक २७ गतेसम्म सञ्चालन हुने रामलीलाबाट सङ्कलन भएको चन्दा सामाजिक र सांस्कृतिक क्षेत्रमा खर्च गरिने उनले बताए।

रामलीलालाई व्यवस्थित रूपमा सम्पन्न गर्न राजबहादुर कार्कीको संयोजकत्वमा मूल व्यवस्थापन समिति गठन गरिएको सांस्कृतिक समाजका अध्यक्ष मोहनसिंह कार्कीले जानकारी दिए। उनले भने, “रामलीलालाई भव्य र सभ्य रूपमा सम्पन्न गर्न विभिन्न समितिहरू बनाएर तयारी गरिएको छ । रामलीलामा नाटक गर्ने कलाकारको तालिम पनि सञ्चालन भइरहेको छ।”

उक्त महायज्ञबाट संस्कृति संस्कारको ग्रहणका साथै असामाजिकता गतिविधि अन्त्य गर्दै रामजस्तै असल चरित्र निर्माणमा सहयोग पुग्ने अपेक्षा गरिएको दोगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्रबहादुर कार्कीले बताए। उनले भने, “सकारात्मक फल प्राप्तिका लागि सकारात्मक र असल काम गर्नुपर्छ भन्ने सन्देश दिन पनि रामलीला महायज्ञले सहयोग गर्नेछ। रामलीलामार्फत समाजमा सकारात्मक सन्देश प्रवाह पनि हुनेछ।”

सम्पूर्ण श्रद्धालु भक्तजन, धर्मप्रेमी समुदाय र स्थानीयवासीलाई यो अवसरमा सहभागी भई धर्म र संस्कृतिको संरक्षणमा हातेमालो गर्न आयोजक संस्थाका सदस्य तथा श्रीकोट बहुमुखी क्याम्पसका स्ववियु सभापति नवीन कपाडीले अनुरोध गरेका छन् । 

Loading...