कैलालीमा हुलाकी राजमार्गको स्तरोन्नति अन्तिम चरणमा

७० किलोमिटरमा काम सम्पन्न, बाँकी खण्ड यस वर्षभित्र सक्ने लक्ष्य

धनगढी- तराई–मधेसका जिल्लालाई सञ्जालमार्फत जोड्ने राष्ट्रिय महत्वको हुलाकी राजमार्गको स्तरोन्नतिको काम कैलालीमा अन्तिम चरणमा पुगेको छ।

जिल्लाभित्रका कुल ९५.७ किलोमिटरमध्ये करिब ७० किलोमिटरमा कालोपत्रे र स्तरोन्नतिको काम पूरा भइसकेको हुलाकी राजमार्ग आयोजना कार्यालय कैलालीले जनाएको छ।

Navadurga sun

यो आयोजना आर्थिक वर्ष २०७७/७८ देखि सुरु गरिएको हो। सहरी क्षेत्रमा चार लेन र ग्रामीण क्षेत्रमा दुई लेनको मापदण्डमा राजमार्ग बनाउने योजना अन्तर्गत काम भइरहेको छ।

पूर्व–पश्चिम जोड्ने सत्ती–भजनी–धनगढी खण्डको ६६ किलोमिटर मध्ये ५२ किलोमिटरमा काम सकिएको छ। हाल हसुलिया–कटैनी पुल (सातौँ प्याकेज) र भजनी ठेकीपुर पुल–(आठौँ प्याकेज) बीचको खण्डमा मात्र काम बाँकी छ।

आयोजनाका सूचना अधिकारी इन्जिनियर गणेशबहादुर बुढाका अनुसार, हसुलिया–कटैनीबीच २ किलोमिटरमा ब्ल्याकटप र सबबेस निर्माण कार्य जारी छ, जुन स्वच्छन्द जेभीले ठेक्कामा लिएको छ।

त्यस्तै ठेकीपुर खण्डमा कालिका–जोशी जेभीले ब्ल्याकटपको काम गरिरहेको बुढाले बताए। कैलालीलाई उत्तर–दक्षिण दिशामा जोड्ने लम्की–टीकापुर–खक्रौला खण्ड २९.७ किलोमिटर लामो छ।

यस खण्डमा हालसम्म १७.५ किलोमिटरमा कालोपत्रे पूरा भइसकेको छ र अन्तिम प्याकेजमा हाल काम भइरहेको छ। आयोजनाका अनुसार यस आर्थिक वर्षभित्रै सम्पूर्ण काम सम्पन्न गर्ने लक्ष्य लिइएको छ।

चालु आर्थिक वर्षमा हुलाकी राजमार्गका लागि ४० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ। आयोजनाले हालसम्म बजेटको अभाव नपरेको र काम अघि बढाउने गति सन्तोषजनक रहेको जनाएको छ।

तर, बाँकी खण्डहरूमा मौसम र ठेकेदारको कार्यक्षमतासँग सम्बन्धित चुनौती यथावत् रहेको छ। अघिल्ला वर्षहरूमा मनसुन र प्रशासनिक ढिलाइका कारण काममा अवरोध आइरहेको अनुभव पनि दोहोरिन सक्ने सम्भावना अधिकारीहरूले बताएका छन्।

हुलाकी राजमार्ग स्तरोन्नतिले कैलाली मात्र होइन, सम्पूर्ण सुदूरपश्चिममा आर्थिक र सामाजिक आवागमनको रूपान्तरण ल्याउने अपेक्षा गरिएको छ। राजमार्ग सुधारले कृषि उत्पादनको बजार पहुँच, औद्योगिक सामानको ढुवानी र स्थानीय पर्यटनमा सकारात्मक प्रभाव पार्ने विश्लेषकहरूको भनाइ छ।

विशेषगरी सत्ती–भजनी–धनगढी र लम्की–टीकापुर–खक्रौला खण्ड सुधारिएपछि पूर्व–पश्चिम राजमार्गमा निर्भरता घट्ने र सीमा तथा भित्री गाउँहरूसँगको जोड घट्ट हुने अनुमान गरिएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...