बाजुरा- बाजुराको खप्तड छेडेदह गाउँपालिकामा जङ्गली भालुको आक्रमणबाट एक महिला गम्भीर घाइते भएकी छन् ।


घाइते हुनेमा वडा नम्बर ३ धनाल्तका भिम रावतकी ४५ वर्षकी श्रमती जौकला रावत रहेकी छन् । उनलाई मेलगडेन भन्ने ठाउँमा भालुले आक्रमण गरेर गम्भीर घाइते बनाएको हो ।



रावत बजारबाट काक्रा बिक्रि गरेर घर फर्किने क्रममा भालुले आक्रमण गरेको खप्तड छेडेदह गाउँपालिकाकी उपाध्यक्ष विशु देवी नाथले बताएकी छन् ।
उनका अनुसार,गम्भीर घाइते भएकी रावतको पाखुरा,खुट्टा र टाउको र मुखमा चोटपटक लागेको बताएकी छन् । गम्भीर घाइते भएकी उनलाई उपचारको लागी बयलपाटा अस्पताल अछाम लगिएको बताइएको छ ।
छेडेदहमा भालुले आक्रमण गर्ने घटना बढि घट्ने गरेका छन् । यो भन्दा अघि पनि सोही गाउँपालिकाको वडा नम्बर ३ धुर्ताला बस्ने अन्दाजी ३५ वर्षका रणबहादुर रावतलाई भालुले आक्रमण गरि गम्भीर घाइते बनाएको थियो ।





