


धनगढी- हालै जेनजी आन्दोलनका क्रममा भएको आगजनीले तहसनहस बनेको जिल्ला प्रशासन कार्यालय कैलालीलाई धनगढी उपमहानगरपालिका–५, हसनपुरस्थित एक्सिस विद्याश्रमले फर्निचर लगायतका सामाग्री सहयोग गरेको छ। विद्यालयले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत सार्वजनिक गर्दै कार्यालयलाई सहयोग गरेको जानकारी गराएको हो।



विद्यालयका अनुसार, आन्दोलनका क्रममा भएको आगजनीले कार्यालयको भौतिक संरचनामा क्षति पुग्नुका साथै कार्यालय सञ्चालन गर्न आवश्यक पर्ने फर्निचरको अभावलाई मध्यनजर गर्दै सामाजिक उत्तरदायित्वअनुरुप सहयोग गरिएको जनाइएको छ।


विद्यालयका अनुसार जिल्ला प्रशासन कार्यालय कैलालीलाई एक थान अफिस टेबल, एक थान रिभल्भिङ चेयर र १० थान प्लास्टिक कुर्सी हस्तान्तरण गरिएको छ।
“जिल्ला प्रशासन कार्यालय कैलालीको भौतिक संरचनामा क्षति पुगेको र कार्यालय सञ्चालनमा समस्या भएको अवस्थामा हाम्रो सामाजिक उत्तरदायित्वलाई ध्यानमा राखी सानो मात्रामा भए पनि सहयोग गर्न पाएकोमा हामी गर्वानुभूति गरेका छौं,” विद्यालयले जनाएको छ।





