धनगढी- धनगढी उपमहानगरपालिका–३ चटकपुरस्थित माया मेट्रो हस्पिटलले आफ्नो सेवाको सात वर्ष पूरा गरी आठौँ वर्ष प्रवेश गरेको छ । आईतबार आयोजित कार्यक्रममार्फत अस्पतालले ८औँ वार्षिकोत्सव मनाउँदै भर्ना भएका एक सयभन्दा बढी बिरामीलाई फलफूल वितरण गरेको हो ।


अस्पतालका पिआर म्यानेजर जगत महताका अनुसार बिरामीसँगको सम्बन्ध प्रगाढ बनाउन फलफूल वितरण कार्यक्रम गरिएको हो।



सन् २०७५ सालमा २५ शैय्याबाट सुरु भएको अस्पताल अहिले १०० शैय्याको क्षमतासहित सेवा विस्तार गरेको छ। अस्पतालमा २४ घण्टे इमरजेन्सी तथा ट्रमा, फार्मेसी, प्रयोगशाला, डिजिटल र भिडियो एक्स–रे, ६४ स्लाइस सीटी स्क्यान, इन्डोस्कोपी, अल्ट्रासाउन्ड, इको, ईसीजी, टिएमटी, एबीपिएम, होल्टर, आइसियु, एनआईसियु, पिआईसियु, एमआईसियुलगायत सेवा उपलब्ध छन्।
त्यस्तै, फिजियोथेरापी, एमआरआई, मानसिक रोग, मुटुरोग, यूरोलोजी, ल्याप्रोस्कोपिक तथा जनरल सर्जरी, नाक कान घाँटी, नवजात तथा बालरोग, स्त्रीरोग तथा बाझोपन, हाड जोर्नी, न्युरो सर्जरी, दन्त शल्यक्रिया, एनेस्थेसिया तथा क्रिटिकल केयर सेवा पनि दिइँदै आएको छ।
अस्पतालले निकट भविष्यमा आईभिएफ सेवा सञ्चालन गर्ने तयारी गरिरहेको छ भने हाल महिनामा एक दिन आईभिएफ परामर्श सेवा उपलब्ध गराइँदै आएको छ। सात वर्षको अवधिमा अस्पतालले ३० हजारभन्दा बढी शल्यक्रिया र १०० भन्दा बढी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरिसकेको जनाएको छ।





