बैतडी- लगातारको वर्षापछि पहिरोले अवरुद्ध भएको जयपृथ्वी राजमार्ग सञ्चालनमा आएको छ ।




बैतडीको सिगास गाउँपालिका–९, रमलियापुर नजिक गएको पहिरोका कारण गएराति १ बजेदेखि पूर्णरूपमा बन्द भएको राजमार्ग आज बिहान करिब १०ः३० बजेबाट पुनः सुचारु गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक बलाराम पाण्डेयले बताए । राजमार्ग अवरुद्ध हुँदा रातभर यात्रुहरू अलपत्र परेका थिए । विशेष गरी बैतडी सदरमुकाम गोठलापानीदेखि दार्चुला तथा डडेल्धुरा जाने यात्रुहरूलाई ठुलो समस्या भएको थियो ।


वर्षाका कारण सडक माथिबाट आएको माटो, ढुङ्गा र रूखका ठुटाहरूले राजमार्ग अवरुद्ध बनाएको थियो । सडक डिभिजन कार्यालय, डडेल्धुराको सहकार्यमा डोजर तथा अन्य आवश्यक उपकरण प्रयोग गरी पहिरो पन्छाइएपछि यातायात पुनः सञ्चालनमा आएको हो । सडक डिभिजन पाटनका अनुसार तत्काल आवश्यक सुधार गरी सडक खुलाइएको भए पनि अझै सतर्कता आवश्यक रहेको छ ।
सडक सञ्चालनमा आएसँगै स्थानीय बासिन्दा, यात्रु तथा सवारी चालकहरूले राहतको अनुभूति गरेका छन। लामो समयदेखि अवरुद्ध बन्दै आइरहेका सडकहरू नियमित मर्मत सम्भार र वैकल्पिक व्यवस्थाको खाँचो रहेको स्थानीयवासी राजेन्द्रप्रसाद भट्टले बताए।




