


अत्तरिया- कैलालीकाे गोदावरी नगरपालिका वडा नं ५ मा नवौं वडा भेला सम्पन्न भएको छ । वडाध्यक्ष सुद्धिराम चौधरीको अध्यक्षतामा सम्पन्न उक्त भेलामा नगर प्रमुख विरेन्द्र भट्ट प्रमुख अतिथि रहनुभएको थियो भने नगर उपप्रमुख शारदा देवी रोकाया विशिष्ट अतिथिका रूपमा सहभागी हुनु भएको थियो । वडा भेलाको एक कार्यक्रमका बिच नगर प्रमुख भट्टले उद्घाटन गर्नुभएको थियो ।





त्यस्तै वडाध्यक्ष चौधरीले आर्थिक वर्ष २०८१/०८२ मा सम्पन्न भएका योजना तथा कार्यक्रमहरूको समिक्षा गर्दै आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि प्रस्तावित नीति तथा कार्यक्रमहरू प्रस्तुत गरेका थिए । उनले आगामी वर्षका लागि गोदावरी नगरपालिका बजेट सिल्लिङ्गबाट ७० लाख रुपैयाँ र जनसंख्या तथा विकासको अवस्थालाई मध्यनजर गर्दै आन्तरिक आयको आधारमा थप ३१ लाख ५५ हजार ३७ रुपैयाँ गरी जम्मा १ करोड १ लाख ५५ हजार ३७ रुपैयाँ बजेट विनियोजन गरिएको वडा भेला मार्फत राखेका छन् ।

बजेटलाई आर्थिक क्षेत्र, सामाजिक क्षेत्र, पूर्वाधार क्षेत्र, वन तथा वातावरण, सुशासन तथा अन्य विविध क्षेत्रहरूमा विनियोजन गरिएको छ । प्रस्तुत गरिएको नीति तथा कार्यक्रमहरूमा कृषि तथा पशुपालन, सिँचाइ, उद्योग, वाणिज्य तथा आपूर्ति व्यवस्थापन, सांस्कृतिक तथा पर्यटन प्रवर्द्धन, सहकारी तथा गरिबी निवारण, स्वास्थ्य तथा पोषण, शिक्षा, विज्ञान तथा प्रविधि, युवा तथा खेलकुद, महिला, बालबालिका तथा समाज कल्याण क्षेत्रलाई प्राथमिकताका साथ समेटिएको छ ।
त्यस्तै, खानेपानी तथा सरसफाइ, सडक तथा यातायात व्यवस्था, शहरी विकास, सूचना तथा सञ्चार, जलविद्युत तथा वैकल्पिक ऊर्जा, स्थानीय पूर्वाधार विकास, वन तथा भू-संरक्षण, जलवायु परिवर्तन, फोहोरमैला व्यवस्थापन, विपद् जोखिम न्यूनीकरण, जलजन्य प्रकोप नियन्त्रण, मानव संशाधन तथा संस्थागत क्षमता विकास, स्रोत परिचालन र स्थानीय योजना तथा तथ्याङ्क व्यवस्थापनलाई समेत समेटिएको छ ।
वडा भेलामा स्थानीय जनप्रतिनिधि, सरोकारवालाहरू, बुद्धिजीवी, संघसंस्था तथा आम नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो । उपस्थित सहभागीहरूले प्रस्तुत नीति तथा कार्यक्रमहरूमा आवश्यक सुझाव तथा सुधारका माग र बुँदाहरू पनि राखेका थिए ।
वडाध्यक्ष चौधरीले आगामी दिनमा जनताको आवश्यकता र सहभागितालाई आधार मानेर बजेट कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गरेका थिए ।





