आर्थिक रुपले बिपन्न ३० जना अपाङ्गता भएका महिलाहरु छनौट गर्ने : उप-प्रमुख भट्ट





धनगढी- यू एन ओमेनको आर्थिक सहयोग, विश्व खाद्य संगठनले छनौटमा पारेका ब्यक्तिहरुका लागि संचालित क्षमता विकास परियोजनालाई सहयोग गर्न बुधवार एक समिति गठन गरिएको छ । जुरी नेपाल र राष्ट्रिय दलित समाज कल्याण संघको साझेदारी गरेर परियोजना संचालन गरिएको छ ।



धनगढी उप-महानगरपालिका नगर उप-प्रमुख तथा अपाङ्गता समन्वय समितिका संयोजक सुशीला मिश्र भट्टको अध्यक्षतामा सरोकारवाला संघसंस्थाहरुको उपस्थीतिमा बसेको बैठकले समिति गठन गरेको हो । उप-प्रमुख भट्टका अनुसार समितिले उप-महानगरपालिका भित्र रहेका आर्थिक रुपले बिपन्न ३० जना अपाङ्गता भएका महिलाहरु छनौट गर्ने भएको छ ।


उक्त नामावली छनौट समितिको संयोजकमा भिमबहादुर शाह, सदस्यहरुमा क्रमस धर्मराज ओझा, सुदामा राना, पतिराम सोप र सोहना जोशी रहेका छन् । सदस्य धर्मराज ओझाका अनुसार एक हप्ता भित्र नामावली संकलन गरेर आगामी बैठकमा पेश गरिने छ । बैठकको समन्वय राष्ट्रिय दलित समाज कल्याण संघका सामाजिक विकास अधिकृत लिला नेपालीले गरेकी थिईन ।



