महाकाली नदीमा राति तुईन तर्दै व्याँस बासी





दार्चुला, ३० साउन- महाकाली नदीमा जय सिंह धामी बेपत्ता भएको घट्नामा मुछिएको भारतीय सीमा सुरक्षा बलले दिउँसो निगरानी बढाएपछि दार्चुलाको व्याँस गाउँपालिकाका बासिन्दा राति तुईन तर्न थालेका छन् ।



सदरमुकाम खलंगासंग नजोडिएको व्याँस गाउँपालिकाका बासिन्दा भोकबाट मर्ने चिन्ताले दैनिक उपभोग्य सामानको जोहो गर्न राति तुईन थालेका हुन् । यो क्रम जय सिंह धामीको मृत्यु भएपछि शुरु भएको हो । तुईन जोड्ने ठाउँमा दिउसो एसएसवीले निगरानी बढाएपछि खाद्यान्न तथा अत्यावशकीय सामानको जोहो गर्न सीमावर्ती भारतीय बजार जान बाध्य स्थानीय बासिन्दा रातको समयमा महाकाली नदी ओहोर दोहोर गर्न थालेका हुन् ।


व्याँस गाउँपालिका अन्तर्गत महाकाली नदीमा अझै १० वटा तुईन सञ्चालनमा छन् । दिउँसो लुकिछिपी तुईन सञ्चालन गर्दा एसएसवीले धरपकड गर्नुका साथै तुईन काट्न थालेपछि स्थानीय बासिन्दाले राति तुईन प्रयोग गर्न थालेका हुन् ।एक जना तुईन सञ्चालकले बिहीवार राति महाकाली नदीमा तुईन तरेर भारतबाट सामान ल्याएको बताए ।



