

कञ्चनपुर- कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आउने पर्यटक घटेका छन् । पूर्वाधार विकास र प्रचारप्रसारको कमीले शुक्लाफाँटा आउने पर्यटक घटेका हुन् ।


गड्डाचौकी नाका भएर भारतीय तथा तेस्रो मुलुकबाट आउने पर्यटकहरू समेत पर्यटकीय स्थलहरूको भ्रमण नगरी काठमाडौं र पोखरातर्फ लाग्ने गरेका छन् । कोरोना संक्रमण सुरु भएपछि विदेशी नागरिकलाई बन्द गरिएको गड्डाचौकी नाका संक्रमण कम भएसँगै नेपाल प्रवेश खुला भयो । तर भारतले तेस्रो मुलुकका नागरिकलाई प्रवेश खुला गरेन ।


दुई महिनाअघि मात्रै विदेशी नागरिकलाई पनि प्रवेश खुला गरिएको हो । त्यसपछि भारतमा घुम्न आएका पर्यटकहरु पनि नेपाल भित्रिन थालेका हुन् । गड्डाचौकी स्थित अध्यागमन कार्यालयका अनुसार पछिल्लो २ महिनाको अवधीमा १ सय ३८ पर्यटक भित्रिएका छन् भने ५० पर्यटक सो नाकाबाट बाहिरिएका छन् । जनवरीदेखि हालसम्म सो नाकाबाट ६ सय ३७ जना भित्रिएका छन् ।

गत वर्ष ९ सय ८३ जना भित्रिएका थिए । त्यस भन्दा अघिल्लो वर्ष ५ सय ४२ जना भित्रिएका थिए। ३०५ वर्ग किलोमीटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पर्यटकीय दृष्टिकोणबाट सम्भावनायुक्त भए पनि पर्यटकहरु शुक्लाफाँटा पुग्न सकिरहेका छैनन् । अध्यागमन कार्यालयका सूचना अधिकारी पदमराज भट्टले गड्डाचौकी नाकाबाट तेस्रो मुलुकका पर्यटकहरु आए पनि सिधैं काठमाडौं पोखरालगायतका शहर घुम्न जाने गरेको बताए ।
सो क्षेत्र २०२६ सालमा शिकार आरक्षको रुपमा स्थापना गरी संरक्षण गरिएको थियो । संरक्षणको क्रममा २०३२ सालमा शुक्लाफाँटा वन्यजन्तु आरक्षको रूपमा स्थापना भएपछि २०७३ फागुन ९ गते वन्यजन्तु आरक्षलाई राष्ट्रिय निकुञ्जमा परिवर्तन गरिएको थियो । शुक्लाफाँटामा तराईको संरक्षित घाँसे मैदान मध्ये सबैभन्दा ठूलो घाँसे मैदान रहेको छ ।
६६५ प्रजातिका वनस्पति, ५३ भन्दा बढी प्रजातिका वन्यजन्तु, ताल तलैया, ३५ प्रजातिका पुतली, करिब ४२४ प्रजातिका चराहरु जसमा विश्वमै दुर्लभ मानिने लेसर भुडिफोर जातको चरा पाइन्छ । पश्चिमी नाका भएर आउने कुल पर्यटकमध्ये करिब १० प्रतिशत मात्र निकुञ्ज भ्रमणका लागि आउँने गरेका छन् ।
शुक्लाफाँटा मात्र नभई महाकाली पारिका दोधारा–चाँदनीलाई जोड्ने एसियाकै सबैभन्दा लामो झोलुंगे पुल तथा बेदकोट र झिलीमिली तालसम्म सहज पहुँच नहुँदा उक्त क्षेत्र समेत ओझेलमा परेका छन् । उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य जंग बहादुर मल्लले यहाँको पर्यटनको विकासका लागि राज्य स्तरबाट लगानी हुन नसकेको बताए ।





