

अत्तरिया- सुदूरपश्चिम प्रदेशभित्र आठ वटा सुपथ मूल्य पसल खुलेका छन् । सोमबारदेखि सुपथ मूल्य पसलबाट दैनिक उपभोग्य सामान विक्री वितरण गर्ने गरी पसल सञ्चालनमा ल्याइएको हो ।


साल्ट ट्रेडिङ कर्पोरेसन धनगढीले सुदूरपश्चिममा आठवटा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ। कैलालीको धनगढी, अत्तरिया र टीकापुरमा चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएको छ । कञ्चनपुरको महेन्द्रनगर र वेलौरीमा पनि पसल खोलिएको छ ।



पहाडी जिल्ला डडेल्धुरा, बैतडीको पाटन र डोटीको दीपायलमा पनि सुपथ मूल्य पसल खोलिसकेको साल्ट ट्रेडिङ कर्पोरेसन धनगढीका प्रमुख वासुदेव उपाध्यायले बताए । असोज ७ देखि कात्तिक २२ गतेसम्म सुपथ मूल्य पसल सञ्चालन हुने उनले बताए ।
धनगढी र अत्तरियामा खोलिएका सुपथ मूल्य पसलबाट चिनी प्रतिकिलो एक सय २ रुपैयाँ ५० पैसामा पाइने छ । दीपायल र पाटनमा भने प्रतिकिलो एक सय १०, डडेल्धुरामा एक सय ५, महेन्द्रनगरमा एक सय ४ र टीकापुरमा एक सय ५ रुपैयाँ पर्नेछ । सुपथ मूल्य पसलबाट चिनी प्रतिव्यक्ति २ किलो उपलब्ध गराउने गरी व्यवस्था गरिएको छ । त्यस्तै नुन प्रतिकिलो २४ रुपैयाँ तोकिएको छ । नुन प्रतिव्यक्ति ६ किलो उपलब्ध गराउने गरी व्यवस्था गरिएको छ ।
सुपथ मूल्य पसलहरूमा च्युरा, खाने तेल, दाल, पिँठो, मैदा पनि प्रतिव्यक्ति ५ किलो उपलब्ध गराउने र ७ रुपैयाँ छुट दिने साल्ट ट्रेडिङ कर्पोरेसन धनगढीका प्रमुख उपाध्यायले बताए । सुपथ मूल्य पसलमा चामल समेत राखिएको छ । साल्ट ट्रेडिङ कर्पोरेसन धनगढीसँग पाँच सय बोरा अर्थात २ सय ५० क्विन्टल चिनी छ । पहाडी जिल्लामा समान ८०/८० बोरा चिनी ढुवानी गरिसकिएको प्रमुख उपाध्यायले बताए ।





