सहजपुर–बिपीनगर–बोगटान सडक हस्तान्तरण

अत्तरिया- सहजपुर–बिपीनगर–बोगटान सडक कालोपत्रे गर्ने काम सम्पन्न भएसँगै सडक डिभिजन कार्यालयलाई हस्तान्तरण गरिएको छ । निर्माणाधीन सहजपुर–बिपीनगर–बोगटान सडकको ५० किलोमिटर पिएलआर–कुमार जेभीले निर्माण गरेको हो ।

सहजपुर–बिपीनगर–बोगटान सडकका सिनियर डिभिजनल इन्जिनियर सविन जोशीले गत आर्थिक वर्षको असार २६ गते सडक निर्माणको सबै प्रक्रिया पूरा भएर नेपाल सरकारको मातहतमा रहेको सडक डिभिजन कार्यालयलाई हस्तान्तरण गरिएको बताए । कैलालीको सहजपुरदेखि डोटीको गाडेबाँज सम्म ५० किलोमिटरमध्ये तीन सय ५० मिटरबाहेक अरू सबै सडक कालोपत्रे गर्ने काम पूरा भइसकेकाले हस्तान्तरण गरिएको उनले बताए ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

आयोजना कार्यालयले दिएको जानकारीअनुसार उक्त सडक खण्डमा सडक बोर्ड मार्किङ, जेब्रा क्रसिङ लगायत सबै काम सम्पन्न गरेर निर्माण कम्पनीले सडक डिभिजन कार्यालयलाई हस्तान्तरण गरेको जोशीले जानकारी दिए । उक्त सडकमा क्षेत्राधिकारको विवाद, रूख कटान अनुमतिमा ढिलाइ, चट्टान, कोरोना महामारीलगायत विभिन्न बाधा व्यवधानका कारणले सडक निर्माण अवधि लम्बिएको आयोजना कार्यालयले जनाएको छ ।

वि.सं. २०७५ फागुनमा कैलालीको सहजपुरबाट डोटीको बडीकेदार सम्म ५० किलोमिटर सडक कालोपत्रेका लागि ३६ महिनामा सडक निर्माणको काम पूरा गर्न ठेक्का सम्झौता भएको थियो । सम्झौताको पाँच वर्षपछि सडक निर्माणले पूर्णता पाएको कम्पनीले जनाएको छ । कैलालीको सहजपुरबाट डोटीको बडीकेदार गाडेबाँज सम्म ५० किमी सडक कालोपत्रेका लागि २०१८ डिसेम्बर ५ मा पिएलआर–कुमार जेभीसँग सम्झौता गरिएको थियो । सम्झौताअनुसार सन् २०२१ जुन १७ मा सात मिटर चौडा कालोपत्रे र कालोपत्रेको दायाँबायाँ एक–एक मिटर सोल्जर (ग्राभेल) सडक निर्माण गरिसक्नुपर्ने हो ।

निर्माण कम्पनीले विभिन्न समस्या देखाउँदै निर्माण लम्बिँदै गएको जनाइएको छ । एक्जिम बैङ्क अफ इन्डियाको ऋण सहयोगमा निर्माण भएको सो सडक आयोजनाको सम्झौता रकम एक करोड ९६ लाख ९३ हजार तीन सय १२ अमेरिकी डलर रहेको जनाइएको छ ।

वि.सं.२०४३ देखि सहजपुर–बिपीनगर–बोगटान सडकको ट्र्याक खोल्ने काम सुरु गरिएको थियो । कैलालीको सहजपुरबाट सुरु भएको सडक डोटीको बिपीनगर, अत्तरकाँडा, सिमचौर, लाना, चवराचौतारा, गगुडा, तिखात्तर, रानागाउँ हुँदै राजपुर दिपायल जोडिनेछ । आयोजना कार्यालयले सहजपुर–बिपीनगर–बोगटान दिपायलसम्म सर्वे गर्ने क्रममा एक सय आठ किलोमिटर सडकको लम्बाइ रहेको जनाएको छ ।

Loading...