कैलाली- कैलाली र कञ्चनपुरमा बसोबास गर्ने राना समुदायमा ‘सावनको डोला’को रौनक सुरु भएको छ । राना बसोबास गर्ने गाउँमा साउनको सुरुमै सार्वजनिक स्थानमा पिङ राख्ने र खेल्ने चलन छ । यसलाई राना समुदायले ‘सावनको डोला’ भन्ने गर्दछन् ।



सुदूरपश्चिमका दुई जिल्ला कैलाली र कञ्चनपुरमा मात्रै राना समुदायको बसोबास छ । राना थारु समुदायले साउन महिनामा घर तथा समूहमा पिङ हालेर खेल्ने र सावनका डोला मनाउने परम्परा छ । तीज सुरु हुनुभन्दा एक महिनाअघिदेखि नै राना समुदायमा ‘सावनको डोला’ को रौनक छाउँछ ।


परम्परागत पहिरनमा सजिएका राना महिला आफ्नै पारामा गीत गाउँदै डोला खेल्दै रमाइलो गर्दछन् । यस पर्वलाई खेतीपातीको काम सकिएपछि थकाइ मेटाउने पर्वका रुपमा मनाउने गरिएको राना समुदायका जानकारहरु बताउँछन् ।

भीमदत्त नगरपालिका–१९ का साहेब रानाले साउन १ गतेदेखि नै राना गाउँमा सावनको डोला हाल्न सुरु गरेको बताउनुभयो । “हाम्रो समुदायले साउनमा मनाउने गरेको तीज पर्व लामो हुन्छ तीज अघि नै हाम्रो समुदायमा सावनको डोला राख्ने चलन छ ।उहाँले विशेषगरी दिदीबहिनीले पिङमा मच्चिँदै माङ्गलिक गीत गाउने गरेको जानकारी दिनुभयो ।
राना समुदायका महिलाले दाजुभाइ र भतिजाको दीर्घायुका लागि व्रत बसेर तीज मनाउने प्रचलन रहेको स्थानीय राजमती रानाले बताउनुभयो । छुट्टै पहिचान र मौलिक संस्कृति रहेको रानाथारू समुदायमा तीज पर्व आउन एक महिनाअगावै दिदीबहिनीको घरमा गएर निम्ता दिने र तीज पर्व मनाउने चलन रहेको उहाँले बताउनुभयो ।
“हामी साउन महिनाभर सावनकी डोला मनाउँछौँ डोलामा दिदीबहिनी तथा साथीभाइसँग रमाइलो हुन्छ ।” छुट्टै पहिचान र मौलिक संस्कृति रहेको यस समुदायमा पछिल्लो समय सावनको डोलाको महत्व र परम्परागत मान्यता नयाँ पुस्तामा पुस्तान्तरण हुन नसकेको राना समुदायका अग्रज बताउँछन् ।
“राना समुदायका पर्वहरु पुस्तान्तरण हुन सकेका छैनन्”, समुदायका जानकार सेटसिंह रानाले भन्नुभयो, “बदलिँदो समयसँगै हाम्रा पर्व पनि लोप हुन थालेका छन् ।” उहाँले अहिले पिङ राख्न काठ पाउनै मुस्किल पर्ने गरेको बताउनुभयो ।
“अहिलेका युवालाई यसप्रति चासो छैन, धेरै रोजगारीका लागि बाहिर छन्, एक महिनासम्म मनाउने यो पर्व कम थालेको छ”, उहाँले भन्नुभयो, “हाम्रा परम्पराहरु अन्य समुदायको भन्दा पृथक छन्, यसको पुस्तान्तरण हुनु जरुरी छ ।

