टीकापुर- लगातार वर्षापछि आएको बाढीका कारण कैलालीको जनजीवन प्रभावित बन्न पुगेको छ । कैलालीको भजनीमा आइतबार राति बाढी बस्तीमा पसेपछि केही परिवार विस्थापित भएका छन् । पालिका र स्थानीय मिलेर जोखिम क्षेत्रका नागरिकलाई रातभरि हुलाकी सडक र उच्च भवनमा सारिएको छ ।



स्थानीय कृष्ण धमालाका अनुसार भजनीमा केही परिवार रातभरि बस्ती छोडेर सडकमा सरेका छन् । नदी तथा खोलामा पानी बढेपछि राति बस्तीमा रहेका मानिसहरू बालबच्चा र बस्तु भाउ सहित हुलाकी सडकमा बसेका हुन् । बाढीले भजनीका सबैजसो वडामा डुबान भएको छ । वडा नं ८ का सबै घर डुबानमा परेका छन्।


‘निरन्तरको वर्षाले बस्ती डुबानमा परेपछि सयौँ परिवार सरसामान सहित सडक तथा उच्च घरमा सरेका हुन्’, उनले भने, ‘कतिपय आफन्तकोमा बसिरहेका छन् ।’ बाढीका कारण विशेष गरी कैलालीको दक्षिण तथा पूर्वी क्षेत्र जलमग्न भएको छ । चुरेबाट बग्ने खोला र कर्णाली नदीमा पानीको सतह बढेपछि कैलालीको टीकापुर, भजनी, जानकी र जोशीपुरका तटीय क्षेत्रका बस्ती डुबानमा परेका हुन् ।
टीकापुर नगरपालिकामा केही परिवार विस्थापित भएका छन् । विपद् व्यवस्थापन शाखाका प्रमुख निर्मला चौधरीले पथरैया नदीमा आएको बाढीले वडा नम्बर ६ का पर्सेनी, भर्तापुर, भगवानपुरका ६५ घर डुबानमा परेकाले ती घरका मानिसलाई उद्धार गरी उच्च घरमा सारिएको जानकारी दिए । ‘बाढी पसेपछि टीकापुरका जोखिममा रहेका केही परिवारलाई जेसिज हल र केहीलाई उच्च घरमा राखिएको छ’, उनले भने, ‘वडा वडामा रहेका विपद् व्यवस्थापन समिति र पालिकाले तालिम दिएका स्वयंसेवक खोज तथा उद्धारका लागि समुदायमा परिचालन गरेका छौँ ।’ कर्णाली नदीमा पानीको सतह बढेमा टीकापुरका वडा नं २, ५, ७ र ८ डुबानको जोखिममा पर्दछन् ।

त्यस्तै जोशीपुर गाउँपालिकामा पनि लगातारको वर्षापछि जलमग्न भएको छ । भित्तरीयामा काडा नदीको पानी पसेर डुबान भएको जोशीपुर गाउँपालिका विपद् व्यवस्थापन शाखा प्रमुख सीता सिंहले बताए । जानकीका अधिकांश वडा जलमग्न भएका छन् भने केही घरपरिवार विस्थापित भएका छन् । विपद् व्यवस्थापन शाखा प्रमुख नेत्र प्रसाद जैसीले वडा नं ४ र ७ का धेरै बस्ती डुबानमा परेका बताए । ‘वडा नं ४ को गिरधरपुरमा ११ परिवार बसेका छन् । वडा नं ७ को फरेलामा १५ परिवार बसेका छन्’, जैसीले भने, ‘जवलपुरमा पनि दुई घर उच्च घरमा सारेका छौँ । जानकीका दर्जनौँ बस्ती जलमग्न छन् ।’
बस्तीमा बाढी पस्न थालेपछि यस क्षेत्रका पालिकाहरूले नाला सरसफाइजस्ता कार्यमा तीव्रता दिएका छन् । जमेका ढल खोल्ने, डुबान क्षेत्रमा पानीको निकास गर्नेलगायतका कार्यमा खटेका छन् । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशी वर्षाका कारण जिल्लाका विभिन्न स्थान जलमग्न भएका र क्षति न्यूनीकरण गर्ने गरी टिम परिचालन गर्न निर्देशन दिएका बताए ।
‘सङ्कटासन्न क्षेत्र पहिचान गरेर ती ठाउँमा सुरक्षाकर्मी र उद्धार टोली तयारी अवस्थामा खटाएका छौँ’, उनले भने, ‘विपद्मा एक अर्कामा सहकार्य गर्न सघाउन पालिकालाई पनि निर्देशन दिएका छौँ । विषयगत शाखालाई तयारीमा राखेका छौँ। सबैसँग समन्वय भइरहेको छ ।’
आइतबार राति १२ बजे कर्णाली नदीमा बाढीको तह १० दशमलव ५ पुगेको थियो । अहिले बिहान ६ बजेको मापन अनुसार कर्णालीमा जलसतह तह घट्दै गएको छ । कर्णाली नदीमा अहिले पानीको सतह ९ दशमलव ५७ मा झरेको छ । कर्णालीमा बाढीको तह १० मिटर पुग्नुलाई चेतावनी, १० दशमलव ८ पुग्नुलाई खतराको तह पार गरेको मानिन्छ ।
सुदूरपश्चिममा बाढी तथा पहिरोका कारण हुनसक्ने सम्भावित विपद्को समयमा उद्धारका लागि प्रदेशका सबै प्रहरी युनिटलाई तयारी अवस्थामा राखिएको छ । प्रदेश प्रहरी कार्यालय धनगढीका वरिष्ठ प्रहरी उपरीक्षक डिल्लीराज विष्टका अनुसार जिल्ला प्रशासन कार्यालय, इलाका प्रहरी कार्यालय र प्रहरी चौकीमा कार्यरत ११ सय प्रहरी तैनाथ गरिएको । कैलाली र कञ्चनपुरमा डुबान र बाढीबाट आउने खतरालाई मध्यनजर गरेर कर्णाली, र महाकाली नदीको पानीको सतहको प्रहरीले निगरानी गरिरहेको उनको भनाइ छ । रासस




