बर्खा सुरु भयो, बुढीतोला पहिरो अझै भएन मर्मत

अत्तरिया- गत वर्ष अविरल वर्षाका कारण साउन २३ गते पहिरो खस्दा भीमदत्त राजमार्गमा क्षति पुग्यो । कैलालीको खानीडाँडा र बुढीतोला क्षेत्रमा गरी ५७० मिटर सडक भासियो । माथि बाट पहिरो खस्यो । त्यो निकै ठूलो क्षति थियो । करिब एक साता यातायात अवरूद्ध भयो ।

भीमदत्त राजमार्ग सुदूरपश्चिमका सातवटा पहाडी जिल्ला आपसमा जोड्ने प्रमुख सडक हो । यो सडक एक साता अवरुद्ध हुँदा यहाँको जनजीवनमा निकै ठूलो असर पर्‍यो । उपभोगका कतिपय वस्तुको अभाव भयो । प्रदेशका मुख्यमन्त्री, संघीय सरकारमा मन्त्री र केही राजनीतिक दलका उच्च नेताहरूले क्षतिको अवलोकन गरे ।

Navadurga sun

अवलोकनमा आउने सबैले क्षतिग्रस्त खण्डको मर्मत छिटो गर्न पहल गर्ने आश्वासन दिए । भासिएको खण्ड केही सुरक्षित बनाएर यातायात चालु त भयो तर पूर्णरूपमा मर्मत भएको छैन । फेरि मनसुन सुरु भएको छ । क्षति भएको एक वर्ष हुँदा यातायातका साधन चल्ने त भएको छ मर्मतको काम अधुरै छ । फेरि पनि सडकमा क्षति हुने र यातायात अवरूद्ध हुने जोखिम उत्तिकै छ ।

सडक डिभिजन कार्यालय, महेन्द्रनगरका अनुसार मर्मत कार्य चालु रहेको सडक खण्डमा थप क्षति हुन नदिने र जोखिम न्यूनीकरण गर्ने योजना अनुसार काम भइरहेको छ । कार्यालयका इन्जिनियर तारानाथ सिग्देलले गत वर्ष सडक भासिए पछि पहिलो जरुरी कामका रूपमा एकतर्फी यातायात चलाइएको र एक महिनामा दुबै तर्फ चल्ने बनाइएको छ ।

ठूलो पहिरो खसेकाले त्यसको अध्ययन गरिएको पनि उनले बताए । ‘सडकको भिरालोपन स्थिर राख्न र थप भत्किन नदिन अपनाउनुपर्ने प्रविधिबारे परामर्श सेवामार्फत अध्ययन गर्ने काम भयो,’ उनले भने, ‘जियोलोजिकल र जियोटेक्निकल इन्भेस्टिगेसनको टोलीबाट माटो र चट्टानको परीक्षण भयो । कुन प्रकारको चट्टान कुन तहसम्म छ, पानी कुन तहमा छ भन्ने अध्ययन गर्ने काम भयो। यो अध्ययनमै तीन महिना लाग्यो ।’

अध्ययनको निष्कर्ष र सुझाव अनुसार पहिलो चरणको मर्मतका लागि गत वैशाख २७ गते ‘जिएसआई हटैराज जेबी कम्पनीसँग’ ६ करोड ४७ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको छ । सिग्देलका अनुसार पहिलो चरणको काम अन्तर्गत सडक काटेर फराकिलो बनाउने र पर्खालको यान्त्रिक स्थिरीकरण गर्ने काम गरिनेछ । काम हुँदै छ तर मनसुन सुरु भएकाले पर्खालको यान्त्रिक स्थिरीकरणका काम स्थगन गरिएको छ । हाल सडक काट्ने र भूमिगत पानी व्यवस्थापन गर्न पाँच वटा इनार बनाउने काम चलिरहेको छ ।

पहिलो चरणको काम पूरा गर्न निर्माण कम्पनीले आठ महिनाको म्याद पाएको छ । गत वर्ष जमिनमुनिको पानीका कारणले ठूलो पहिरो गएको र सडक भासिएको सिग्देलको भनाइ छ । जमिनमुनिको पानी व्यवस्थापन गर्न सकियो भने पहिरो नियन्त्रण हुने विश्वास छ । पहिरो नियन्त्रणका लागि इनारबाट पानी संकलन गरेर फ्याक्ने प्रविधि अपनाइएको हो । पाँच वटा इनार मध्ये असारभरिमा दुई वटा तयार हुने जनाइएको छ । सिग्देल भन्छन्, ‘असारभरिमा दुई वटा इनार बनाउन र सडक कटिङ पूरा गर्न सक्यौं भने जोखिम नहुने हाम्रो अनुमान छ। इनार बनाउन सक्दा धेरै हदसम्म जोखिम टर्छ ।’

उनका अनुसार सडक काट्ने र फराकिलो बनाउने काम भइरहेको छ । सडक पूरै भासिएको ठाउँमा पर्खालको उचाइ १० मिटरसम्म छ। तुरून्तै ठूलो वर्षा भयो भने समस्या हुन सक्छ । साधारण वर्षाले ठूलो समस्या हुँदैन । वर्षाको अवस्था हेरेर मर्मतको काम हुनेछ । अहिले साइट (कार्यक्षेत्र) मा ७० प्रतिशत सामान पुगिसकेको र पहिलो चरणको कामको १० प्रतिशत पूरा भएको सिग्देलले बताए । उनका अनुसार मर्मतको काममा अहिले सम्म खासै चुनौती छैन ।

अहिले सम्म बजेट अभाव भएको छैन । अर्को आर्थिक वर्षका लागि के व्यवस्था हुँदैछ भन्ने जानकारी हुन बाँकी छ । गत वर्ष क्षति भएको सडक दुई तर्फी चालु गरेपछि भौगर्भिक अध्ययन, लागतको प्राविधिक मूल्यांकन र ठेक्का प्रक्रियामा बढी समय लागेको बताइएको छ ।

ADD Khali jpg
Loading...