धनगढी- कैलालीका १३ वटा स्थानीय तहको बेरुजु ३ अर्ब ६९ करोड ९६ लाख १७ हजार रुपियाँ पुगेको छ । स्थानीय तहमा ऐन, नियम विपरीत मनपरी तरिकाले बजेट खर्च गर्ने परिपाटीका कारण स्थानीय तहको बेरुजु घट्नुको सट्टा बर्सेनि बढ्दै गएको हो । महालेखा परीक्षकको कार्यालयले तयार पारेको आर्थिक वर्ष २०७९/०८० अन्तिम लेखापरीक्षण प्रतिवेदन अनुसार यहाँका प्रत्येक स्थानीय तहमा करोडौँ रुपियाँ नयाँ बेरुजु थपिएको छ । बेरुजु थपिने दर बढी तर, पुरानो बेरुजु सम्परीक्षण गर्ने दर कम भएकाले स्थानीय तहमा बेरुजु बढ्दै गएको छ ।




कैलालीमा सबै भन्दा बढी बेरुजु घोडाघोडी नगरपालिकाको देखिएको छ । सो पालिकाको कुल बेरुजु रकम ४९ करोड ५४ लाख ८३ हजार पुगेको प्रतिवेदनमा उल्लेख छ । आर्थिक वर्ष २०७९/०८० लेखापरीक्षणबाट यो पालिकाको नयाँ बेरुजु २ करोड ९८ लाख ९० हजार रुपियाँ देखिएको छ । यस अघिको आर्थिक वर्षसम्म घोडाघोडीको बेरुजु ४६ करोड ५८ लाख ६२ हजार रुपियाँ रहेको थियो ।







त्यस्तै दोस्रो बढी बेरुजु गोदावरी नगरपालिकाको रहेको छ । सो पालिकाको अद्यावधिक बेरुजु ४९ करोड २९ लाख ७ हजार रुपियाँ पुगेको छ । आर्थिक वर्ष २०७९/०८० लेखापरीक्षणबाट यो पालिकाको नयाँ बेरुजु ५ करोड ४८ लाख ७७ हजार रुपियाँ थप भएको छ । यस अघिसम्मको बेरुजु ४३ करोड ८६ लाख ३१ रुपियाँ रहेको थियो । तेस्रो बढी बेरुजु लम्कीचुहा नगरपालिकाको देखिएको छ । लम्कीको अद्यावधिक बेरुजु ४७ करोड ६ लाख ४१ हजार रुपियाँ पुगेको महालेखा परीक्षकको अन्तिम लेखापरीक्षण प्रतिवेदनमा उल्लेख छ । आर्थिक वर्ष २०७९/०८० लेखापरीक्षणबाट लम्कीचुहाको नयाँ बेरुजु ४ करोड १० हजार रुपियाँ देखिएको छ । अघिल्लो आर्थिक वर्षसम्म यो पालिकाको बेरुजु ४३ हजार ७ लाख ६६ हजार रहेकोमा १ लाख ३५ हजार रुपियाँ सम्परीक्षण गरिएको थियो ।
धनगढी उपमहानगरपालिकाको कुल बेरुजु ३२ करोड ४८ लाख ७१ हजार रुपियाँ पुगेको छ । आर्थिक वर्ष २०७९/०८० मा मात्रै धनगढीको बेरुजु ४ करोड ५२ लाख ९३ हजार रुपियाँ थपिएको छ । त्यस्तै टीकापुर नगरपालिकाको २ करोड ३७ लाख ७९ हजार नयाँ बेरुजु थप भई ३० करोड २३ लाख ८२ हजार, भजनी नगरपालिकाको ४ करोड ३ लाख ८१ हजार थप भई ३२ करोड ६७ लाख ११ हजार रुपियाँ पुगेको छ । गौरीगङ्गा नगरपालिकाको बेरुजु ३ करोड ७९ लाख ८० हजार रुपियाँ थप भई ३० करोड २२ लाख ४७ हजार रुपियाँ पुगेको छ । यो जिल्लामा सबै भन्दा कम १२ करोड ४४ हजार रुपियाँ बेरुजु जोशीपुर गाउँपालिकाको रहेको छ ।
त्यसैगरी कैलारी गाउँपालिकाको बेरुजु १४ करोड ६५ लाख, मोहन्याल गाउँपालिकाको बेरुजु २० करोड ८९ लाख ४४ हजार रुपियाँ पुगेको छ । त्यस्तै जानकी गाउँपालिकाको बेरुजु १९ करोड ४७ लाख ६६ हजार रुपियाँ पुगेको प्रतिवेदनमा उल्लेख छ । चुरे गाउँपालिकाको बेरुजु १४ करोड १७ लाख ३९ हजार र बर्दगोरिया गाउँपालिकाको बेरुजु १७ करोड २३ लाख ८२ हजार रुपियाँ पुगेको महालेखा परीक्षकको अन्तिम लेखापरीक्षण प्रतिवेदनमा उल्लेख छ । धेरै जसो स्थानीय तहले पुरानो त्रुटिलाई नसच्याई दोहोर्याउँदै गइरहेको प्रतिवेदनमा औँल्याइएको छ ।




