


अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १२ ले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ । वडाले शनिबार वडा भेला मार्फत वडा अध्यक्ष भिम बहादुर खड्काले ७६ लाख ५१ हजार ५२३ रुपैयाँ ७६ पैसा को बजेट सार्वजनिक गरेकी हुन् । जसमा भौतिक पूर्वाधार विकास तर्फ २० लाख ५० हजार, सामाजिक विकास तर्फ २५ लाख ५० हजार विनियोजन गरिएको वडा अध्यक्ष खड्काले बताएका छन ।


त्यसैगरी आर्थिक विकास तर्फ २३ लाख ४० हजार, बन तथा वातावरण लागि १ लाख र सार्वजनिक सेवा तथा संस्थागत क्षमता विकास तथा अन्य खर्चका लागि ६ लाख ११ हजार ५२३ रुपैयाँ ७६ पैसाको बजेट विनियोजन गरिएको छ ।


वडा अध्यक्ष भिम बहादुर खड्काको अध्यक्षतामा आयोजित वडा भेला कार्यक्रममा नगर प्रमुख विरेन्द्र भट्ट प्रमुख अतिथि रहेको कार्यक्रममा नगर प्रवक्ता तथा वडा न १ का वडा अध्यक्ष गोपाल दत्त भट्ट, वडा नं ११ का वडा अध्यक्ष प्रेम सिंह बडैंला, वडा नं १० का वडा अध्यक्ष रवीन्द्र शाही लगायत राजनीतिक दलका प्रतिनिधि, संघसस्थाका प्रतिनिधि तथा वडावासीको सहभागिता रहेको छ ।
स्वास्थ्य तथा पोषण, शिक्षा, विज्ञान तथा प्रविधि, युवा तथा खेलकुद, महिला, बालबालिका तथा समाज कल्याण, संरक्षण, खानेपानी तथा सरसफाइ लगायतका योजनाहरूमा खर्च गरिने बताईएको छ । आर्थिक क्षेत्रमा वडाले २३ लाख रुपैयाँ विनियोजन गरेको छ । वडाध्यक्ष खड्काका अनुसार उक्त बजेटबाट रोड, कृषि तथा पशुपंक्षी, सिँचाई, उद्योग, वाणिज्य तथा आपुर्ति, सांस्कृतिक तथा पर्यटन, क्षमता अभिवृद्धि, गरीबी निवारण लगायतका योजनाहरू सञ्चालन गरिने छन ।


कार्यक्रमका प्रमुख अतिथि मेयर विरेन्द्र भट्टले यस पालिका अन्तर्गतका विभिन्न वडामा रहेका नागरिकहरू गुनासा र मागहरू लिनेक्रम जारी रहेको र जनताका अधिकार तथा गाउँ बस्तीमा आएका समस्यालाई क्रमिक रूपमा आवश्यकता पहिचान गरी काम पूरा गर्ने बताएका छन् ।
यस क्षेत्रको प्रमुख समस्या भनेको सडक बाटो नै रहेको, जुन ठेक्का प्रक्रियाबाट अगाडि बढेको र काम ढिला भएकोले उक्त काम छिटो गर्न निर्देशन समेत दिएको बताएका छन् ।
सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला जोड्ने एक मात्र राजमार्ग रहेको अवस्थामा वर्षातको समयमा अवरुद्ध हुँदै गर्दा आवत जावतमा समस्या हुने गरेको र उक्त राजमार्गको वैकल्पिक मार्गको रूपमा अगाडि बढाउनका लागि प्रदेश देखि केन्द्र सम्म समय समयमा माग गर्दै गर्दा आश्वासनमा सिमित देखिएका छौ, हामी चौकीडाँडा देखि फाल्टुडे सडक विस्तारका लागि काम अगाडि बढेको छ ।
जननिर्वाचित व्यक्तिबाट सबै कुरा सम्भव नहुने उनको भनाई रहेको छ । गोदावरीमा छाडा चौपाया रोक्नका लागि गौशाला निर्माण गर्दा स्थानीयहरु विरोध गरेको उनको भनाई छ । सबैको छलफल र हात्तेमालो गरी गोदावरी नगरपालिकामा भएका समस्याहरू क्रमिक समाधानका रुपमा अगाडि बढेको मेयर भट्टले बताए ।
स्थानीय सरकार आत्मनिर्भर हुन सकेको छैन् , संघीय सरकारसँग भर पर्नुपर्ने बाध्यता रहेको उनले बताए । ‘गोदावरी नगरपालिका अन्तरगत रहेको अत्तरिया सडकमा बत्ती बाल्नका लागि पैसा बुझाएको १८ महिना भयो’, उनले भने ‘कागजी प्रक्रिया भई रहेको छ । बत्ती बल्छ ।’ नगरका १२ वटै पालिकामा जग्गा नापीको कार्य सम्पन्न भएको बताउँदै उनले चाँडै राष्ट्रिय भूमि आयोगले पुर्जा दिने उनले बताए । नगरको शिक्षा क्षेत्र सुधारका लागि अगाडि बढेको उनले बताए ।
कार्यक्रममै बोल्दै गर्दा विकासमा केही गरेन भन्ने हरुका लागि मेरो कार्यकालमा जनतालाई एक एक गरी गरेका कामलाई पारदर्शी रुपमा भए नभएको काम देखाएर छाड्ने त विगतको मेयर सापको ५ वर्षे कार्यकाल भन्दा अहिलेको मेरो २ वर्षे कार्यकालमा बढी र उपलब्धि मूलक काम भएको बताएका छन । पालिकामा नयाँ योजना सहित काम गर्न खोज्दा प्रतिपक्ष साथिहरुले विरोध गर्ने परिपाटी जस्तै सबै लागेका देखिन्छन्, म मेरो बाँकी रहेको कार्यकाल मा केही काम गरेर देखाउने बताएका छन्, सबै नगरबासीले साथ दिन अनुरोध गरेका छन् ।





