


धनगढी- कैलालीमा गर्मीका कारण एक जनाको मृत्यु भएको छ । बर्दियाबाट बसमा बुधबार घर फर्कि रहेका कैलालीको कैलारी गाउँपालिका–७ रामपुरका २९ वर्षीय इन्द्र बहादुर रानामगरको मृत्यु भएको हो ।



इलाका प्रहरी कार्यालय हसुलियाका प्रमुख लोकेन्द्र चन्दका अनुसार उनी बर्दियाबाट कैलालीको मसुरिया बजार झरेपछि मसुरियाबाट हसुलिया बजारको लागि हिँडेको से १ ख ८१० नम्बरको बसमा आमा बुवा सहित सवार थिए । उच्च गर्मीकै बीच बसमै एकछिन आराम गर्छु भनी सुतेका उनी हसुलिया बसपार्क पुगेपछि मृत भेटिएको चन्दले बताए ।


मसुरिया र हसुलियाको दुरी १७ किलोमिटर मात्रै छ। उनको गर्मी पछि हृदयघातका कारण नै मृत्यु भएको प्रहरीको भनाइ छ । पछिल्लो केही दिन देखि गर्मी सँगै तातो हावा (लु) चलेपछि जनजीवन कष्टकर बनेको हो । बिहीवार सुदूरपश्चिम प्रदेशको राजधानी समेत रहेको धनगढी (कैलाली) मा हाल सम्मकै उच्च तापमान मापन गरिएको छ ।





