सुदुरपश्चिमका हरेक जिल्लामा फरक किसिमको होली

कञ्चनपुर- असत्यमाथि सत्यको विजय उत्सवका रुपमा मनाइने होली पर्व सुदूरपश्चिमका हरेक जिल्लामा पृथक तरिकाले मनाइने गरिन्छ।

कैलाली र कञ्चनपुरका रानाथारू समुदायको होली पर्व भिन्न छ,भने अन्य पहाडी जिल्लाबाट यहाँ बसाइँसराइ गरी आउनेको होली भिन्न छ। पछिल्लो समय पहाडी जिल्ला अछाम, बैतडी, दार्चुला र डडेल्धुराबाट तराईमा बसाइँ सरेर आउनेले पनि आ–आफ्नो ढङ्गले होली मनाउन थालेका छन्।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

यहाँ बसोबास गर्ने अछामी समुदायले भिन्न तरिकाले होली मनाउने गरेका छन् भने डडेल्धुराको रुपाली होली भिन्न छ। त्यसैगरी, दार्चुला र बैतडीबाट बसाइँ सरी आएकाले होली भिन्न तरिकारले मनाउने गरेका छन्। हाल कञ्चनपुरमा अछामी होली, रुपाली होली र दार्चुला बैतडीको होली भिन्न भिन्न तरिकाले मनाउने गरिएको छ।

अछामबाट बसाइँसराइ गरी यहाँ आएकाले आफ्नो संस्कृति संरक्षणका लागि होली पर्व मनाइएको अछाम सेवा समाज कञ्चनपुरका अध्यक्ष रुपबहादुर रावलले बताए। “हाम्रो अछाममा सेतो जामासहितको लुगा लगाएर रङ नलगाई होली खेल्ने गरिन्छ”, उनले भने, “अहिले संस्कृति संरक्षणका लागि बसाइँ सरी जो जहाँ छौँ, त्यही होली मनाउने गरेका छौँ।”

त्यसैगरी, डडेल्धुराको रुपालबाट बसाइँ सरी कञ्चनपुर आएकाले पनि भिन्न तरिकारले होली मनाउने गरेका छन्। “रुपालवासीको होली गाउने खेल्ने तरिका अन्य समुदायको भन्दा भिन्न छ”, स्थानीय डम्बरदत्त भट्टले भने, “अहिले हाम्रो मौलिक होली पर्व जोगाउन यहाँ होली कार्यक्रमको आयोजना गर्ने गरेका छौँ।”

दार्चुलाबाट कञ्चनपुर बसाइँ सरी आएकाको पनि भिन्न होली छ। पाँच दिनसम्म आफन्तको घर–घरमा गएर होली खेल्ने र एकापसमा शुभकामना आदानप्रदान गर्ने गरेको मालिकार्जुन सेवा समितिका सचिव ओमकारप्रसाद विष्टले बताए। “हामी लगातार पाँच दिनसम्म होली मनाउँछौँ”, उनले भने, “हाम्रो होलीमा रङ्ग दल्ने मात्रै नभई लोकगाथा र लोकबाजाका साथमा नाच प्रदर्शन गर्छौं।” उनले दार्चुलाबाट बसाइँ सरी कञ्चनपुरमा आएदेखि नै यहाँ मौलिक रुपमा होली पर्व मनाउन थालेको बताए। रासस

Loading...