

धनगढी, १७ मंसिर । धनगढीमा पहिलाे पटक मिनी महोत्सव सुरु भएको छ । राष्ट्रिय अपाङ्ग महासंघ सुदूरपश्चिम प्रदेशको आयोजनामा आइतबार देखि २ दिने सुरु भएको मिनी महोत्सव धनगढी उपमहानगरपालिकाको परिसरमा सुरु भएको हो ।





राष्ट्रिय अपाङ्ग महासंघका सुदूरपश्चिम अध्यक्ष मानबहादुर साउँदले ‘दिगो विकासका लक्ष्य प्राप्तिको प्रतिबद्धता अपाङ्गता भएका व्यक्तिहरूको अपनत्व र नेतृत्वसहितको ऐक्यबद्धत’ भन्ने मुल नाराका साथ दुई दिने मिनी महोत्सव आयोजना गरिएको बताए ।

मिनि महोत्सवमा ११ वटा स्टलहरु रहेका छन् । स्टलमा स्थानीय उत्पादन, जनचेतनामूलक पर्चा पम्पलेट र राना चौधरी समुदायका परिकारहरु, निःशुल्क कान जाँच शिविर, फिनायल हर्पिक, नमकिन, केरा, ढिग्री, माछा, ढाकाबाट बनाइएका साम्रागीहरु, मःम, चिया नास्ता, पकोडा लगायतका सामाग्रीहरु रहेका छन् ।
कार्यक्रममा २०६७ सालमा मदन पुरस्कार विजेता नर बहादुर साउदलाई सम्मान गरिएको छ । त्यस्तै होटेल व्यवसायीहरुलाई र विशेष विधालयहरुलाई प्रशंसनिय कार्य गरेको भन्दै सम्मान गरिएको छ ।


कार्यक्रममा परिलक्षित संस्थाले हाजिरी जवाफ प्रतियोगितामा प्रतियोगीलाई नगद पुरस्कार र प्रमाण पत्र प्रदान गरिएको थियो । रोस्यारा अपाङ्गता प्रतिस्ठानले विपन्न अपांगता विधार्थीहरु ८ जनालाई नगद रकम प्रदान गरेको थियो ।

त्यस्तै कार्यक्रममा प्रमुख अतिथी रहनु भएका सामाजिक विकास मन्त्री झपट बहादुरसाउँदले अपाङ्गगता भएका व्यक्तिका लागी बनाइएका ऐन निती नियम कार्यान्वयन गर्न तर्फ लाग्नुपर्ने बताएका छन् । सुदूरपश्चिम सरकार र सामाजिक बिकास मन्त्रालय अपाङ्गगता भएका व्यक्तिको हक अधिकारका लागी, बजेट बिनीयोजन, अपाङ्गगतामैत्री भौतिक संरचना निर्माण गर्ने कुरा प्रदेश सरकार गम्भिर रुपमा लागेको उनले बताए । बिगतमा अपाङ्गता महासंघ र प्रदेश सरकार बिच भएको सम्झौता कार्यान्वयनमा आफु प्रतिबद्ध रहेको मन्त्री साउँदले दाबी गरेका छन् ।

कार्यक्रममा शारीरिक अपाङ्गता बालबालिकाहरुको नृत्य, बहिरा बाल बालिकाहरुको नृत्य, दृष्टि विहिनहरुको एकल गायन, प्रस्तुती समेत गरेका थिए । आइतबार साँझ ४ बजे उदघाटन सत्रको समापन गरिएको भियो भने मिनि महोत्सव भोली (सोमबार) साझ ४ बजे सम्म रहने आयोजकले जनाएको छ ।

मिनी महोत्सवको पूर्वसन्ध्यामा धनगढी बजारमा प्रभातफेरीको कार्यक्रमको आयोजना गरिएको थियो ।
राष्ट्रिय अपाङ्ग महासंघका सुदूरपश्चिमका अनुसार सुदूरपश्चिममा ७० हजार ८ जना अपाङ्गता भएका ब्यक्ती रहेका छन् ।