‘डिम्याट एकाउन्ट’ डेढ महिनामै ४ लाखले खोले
के हो डिम्याट खाता ? कसरी, कहाँ खोल्ने खाता ?





काठमाडौँ- पछिल्लो समय डिम्याट खाता खोल्नेको संख्या ह्वात्तै बढेको पाइएको छ । माघ ६ गतेपछि ४ लाखले डिम्याट खोलेका छन् । माघ ६ गते डिम्याट खाताको संख्या २६ लाख १० हजार ८ सय ६२ रहेकोमा फागुन ६ गतेसम्म यो संख्या बढेर २८ लाख ७३ हजार २ सय ७९ पुगेको थियो । बुधबार फागुन १९ गतेसम्म आईपुग्दा डिम्याट खाताको संख्या ३० लाख नाघेको छ ।


सिडीएससीको बुधवारसम्मको तथ्यांक अनुसार नेपालमा डिम्याटको संख्या ३० लाख ४१ हजार ६ सय ९८ पुगेको छ । विशेषगरि नेपाल इन्फ्रास्ट्रकचर बैंकले निष्काशन गर्ने आईपीओमा आवेदन दिनको लागि डिम्याट खाता खोल्नेको संख्या अत्याधिक बढेको थियो ।


के हो डिम्याट खाता ?
अंग्रेजी शव्द ‘डिम्याट्रिलाइज्ड’को छोटकरी शव्द नै डिम्याट हो । नेपालीमा यसको अर्थ अभौतिक खाता हुन्छ । विभिन्न कम्पनीको सेयर खरिदबिक्री हुँदा पहिले भौतिक अर्थात कागजी प्रमाणपत्रकै रुपमा हस्तान्तरण हुने गर्दथ्यो । अर्थात सेयर बेच्नेले प्रमाणपत्र नै दिने, खरिद गर्नेले फेरि आफ्नो नाममा प्रमाणपत्र नै पाउँथे ।
२०७२ माघ २ गतेबाट डिम्याट खाता पूणर् रुपमा सञ्चालनमा आएको हो । हाल सेयर अभौतिक रुपमा अर्थात यहीं डिम्याट खातामा सिधै हस्तान्तरण हुन्छ । जसरी हामीले बैंक खातामा पैसा जम्मा गर्छौं, त्यसैगरी डिम्याट खातामा किनेको सेयर आफै जम्मा हुन्छ ।

प्राथमिक सेयर (आइपिओ) भरेपछि परेमा खातामै जम्मा हुन्छ । त्यस्तै दोस्रो बजारमा सेयर बिक्री गर्दा खाताबाट सेयर संख्या घटेर खरिद गर्नेको डिम्याट खातामा जम्मा हुन्छ । यही सेयर जम्मा हुने खाता नै डिम्याट खाता हो ।
कसरी, कहाँ खोल्ने खाता ?
यो खाता विभिन्न बैंकका सहायक कम्पनीहरुमा खोल्न सकिन्छ । सहायक कम्पनी भएका बैंकहरुले नै यस्तो खाता खोलिदिन्छन् । त्यस्तै ब्रोकर कम्पनीहरुमार्फत पनि यस्तो खाता खोल्न सकिन्छ । यो खाता खोलिदिने संस्थालाई निक्षेप सदस्य (डिपोजिटरी पार्टिसिपेन्ट) भनिन्छ ।
७६ वटा यस्ता निक्षेप सदस्य छन् । यस्तो खाता खोल्नका लागि बैंक खाता नम्वर, नागरिकता प्रमाणपत्रको फोटोकपी र फोटो चाहिन्छ । आफूले कारोबार गर्ने बैंक वा ब्रोकर कम्पनीमै यस्तो खाता खोल्न सकिन्छ ।
धेरैले यस्तो खाता खोलेवापत कुनै शुल्क लिँदैनन् । केहीले एक सय रुपैयाँसम्म शुल्क लिन सक्नेछन् । डिम्याट खाता खोलेपछि तपाईंलाई १६ अंकको डिम्याट खाता नम्वर प्राप्त हुन्छ । सो नम्वर पाएपछि मात्रै तपाईंले प्राथमिक सेयर भर्न वा दोस्रो बजार (नेप्से) बाट खरिदबिक्री गर्न सक्नुहुनेछ ।
आफ्नो डिम्याट खातामा कुन-कुन कम्पनीको, कति सेयर छ ? त्यसको अहिलेको बजार मूल्य कति छ, खातामा सेयर जम्मा भए/नभएको जस्ता विवरण पनि आफूले नै मोबाइल वा ल्यापटपबाट हेर्न सकिन्छ । यसका लागि डिम्याट खाता खोलिदिने संस्थाले डिम्याट एकाउन्ट लगइनको युजरनेम र पासवर्ड दिन्छन् ।



