

धनगढी- कैलालीको भजनीसहित पूर्वी क्षेत्रमा बर्खाको समयमा डुबान हुनु कुनै नौलो समस्या होइन। वर्षौंदेखि बर्सेनि यहाँका स्थानीयवासीले डुबानको समस्या भोग्दै आएका छन्। पहिले सो समस्या प्रचारप्रसारमा आउँदैनथ्यो, अहिले सञ्चार माध्यममा छाउने गरेको छ।


“यो समस्या नयाँ होइन, पुरानै हो,” भजनी नगरपालिकाका प्रवक्ता एवं वडा नम्बर ३ का अध्यक्ष विक्रम चौधरीले भने, “यो समस्या वर्षौं पुरानो हो, तर समाधान गर्नेतर्फको कसैको ध्यान जान सकेको छैन।” डुबान समस्याको समाधानका लागि दिगो उपाय अवलम्बन गर्न सकिएको छैन। बस्तीभन्दा अग्लो गरी हुलाकी राजमार्ग बनाइएपछि डुबानको समस्या झन् बढेको उनको भनाइ छ।



सडक अग्लो हुँदा चुरेक्षेत्रबाट आउने पानीले निकास पाएन। पानी थुनिएर झन् डुबान हुन थालेको छ। पानी निकासका लागि हुलाकी राजमार्गमा पर्याप्त मात्रामा कल्भर्ट, ह्युमपाइप बनाइएको छैन, वडाध्यक्ष चौधरीका अनुसार, “राजमार्ग ड्याम जस्तै अग्लो भयो। पानी निकासका लागि कुनै व्यवस्था छैन।”
डुबान प्रभावित क्षेत्रमा स्थानीय कान्द्रा, काँढा, मोहना, पथरैयालगायतका नदी बग्ने गर्दछन्। यी नदीहरूमा आएको बाढीले निकास नपाउँदा हुलाकी राजमार्गको उत्तर दक्षिण दुवैतिर भरिन्छ र बस्तीमा पसेपछि डुबान हुने गरेको उनले बताए । राजमार्गको दुवैतिर पानी भरेर समुद्र जस्तै बनेपछि भजनी नगरपालिकाको वडा नम्बर २, ३, ५, ६, ७ र ८ वडा डुबानमा पर्ने गरेको छन्। बाढीलाई बग्न दिन कान्द्रा र काँढालगायतका नदीको दुवै किनारमा उच्च ड्यामसहितको तटबन्ध बनाउनुपर्ने सुझाव स्थानीयको छ।
रानी जमरा कुलरिया सिँचाइ आयोजनाले उच्च ड्यामसहितको तटबन्ध निर्माण गरेको छ। त्यो तटबन्ध बनाइएपछि टीकापुरको वडा नम्बर–७ सहित पथरैया नदी आसपासको बस्तीले बाढी, डुबान समस्याबाट छुटकारा पाएको स्थानीय जयप्रकाश ढुङ्गाना बताउनुहुन्छ। तटबन्ध बनेपछि तल्लो तटीय क्षेत्रमा रहेको टीकापुर–७, को विभिन्न गाउँ धेरै हदसम्म सुरक्षित भएको दाबी उनले बताए। डुबान समस्याको दीर्घकालीन समाधानका लागि काँढा र कान्द्रा नदीमा तटबन्ध बनाउनुपर्ने सोही क्षेत्रबाट निर्वाचित प्रदेश सभा सदस्य घनश्याम चौधरीको सुझाव छ।
बाँध जस्तो अग्लो हुलाकी राजमार्ग र भजनीभन्दा केही किलोमिटर दुरीमा भारतस्थित घाँघरा नदीमा रहेको कैलाशपुरी बाँधका कारण पानी निकासमा समस्या भएको उनले बताए । नदीमा बाढी आएपछि भारतले कैलाशपुरी बाँधका सबै ढोका बन्द गर्ने गरेकाले कैलालीदेखि बर्दियासम्म डुबान बढ्ने गरेको प्रतिनिधि सभा सदस्य गङ्गाराम चौधरीले बताए । गोरखापत्रबाट





