

काठमाडौँ- नेपाली कांग्रेसले ‘समुदायमा कांग्रेस’ अभियान तत्काल सञ्चालन नगर्ने निर्णय गरेको छ । साउन पहिलो साता बसेको केन्द्रीय कार्यसमितिको बैठकबाट कांग्रेसले एक वर्षे कार्यतालिका पारित गर्दै कांग्रेसलाई जनतासँग जोड्ने उद्देश्यसहित चरणवद्ध संगठन सुदृढीकरणका अभियानहरु घोषणा भएका थिए ।



जसअन्तर्गत साउन २० देखि ३० गतेसम्म आन्तरिक विशेष अभियान सञ्चालन गरेको कांग्रेसले १० भदौदेखि २४ गतेसम्म ‘समुदायमा कांग्रेस’ अभियानको घोषणा गरेको थियो । मंगलबार बिहान सभापति शेरबहादुर देउवाको निवासमा बसेको पार्टीका पदाधिकारीहरुको बैठकले तत्काल ‘समुदायमा कांग्रेस’ अभियान स्थगित गर्ने निर्णय गरेको सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले जानकारी दिइन् ।


‘अहिले वर्षाले देशभरि समस्या निम्त्याइरहेको अवस्था छ । फेरि संघीय संसद् पनि सञ्चालन भइरहेको अवस्था भएकाले यो अभियानलाई केही समय स्थगित गर्ने भन्ने निष्कर्षमा पुगेका छौं,’ उनले भनिन्, ‘यसअघि सञ्चालन भएको आन्तरिक विशेष अभियानको संक्षिप्त समीक्षा र तत्काल गर्नुपर्ने कामहरुका विषयमा पनि केहीबेर कुराकानी भयो ।’
बैठकले भदौ २४, २५ र २६ गते काठमाडौंमा बीपी साहित्य सम्मेलन गर्ने निर्णय गरेको छ । यसअघि कार्ययोजनामै यो विषय समेटिएको थियो ।बैठकले सभापति देउवालाई भदौ १५ गतेभित्र गठन गरिसक्ने जिम्मेवारी तोकिएका भ्रातृ संस्थाहरुको गठनको काम पूरा गर्न स्मरण गराएको छ भने विभागहरुको गठनका विषयमा छलफल भएको थियो ।