बजेट अभावले महाकाली पुल निर्माणको काम प्रभावित

कञ्चनपुर- महेन्द्रनगरस्थित महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुल निर्माणको काम बजेट अभावले प्रभावित भएको छ । मुलुककै आर्थिक समृद्धिसँग जोडिएको सो पुल निर्माणका लागि पर्याप्त बजेट प्राप्त नहुँदा निर्माण कार्य प्रभावित भएको हो ।

पुल निर्माण कम्पनीले गत आवकै रु २२ करोड रकम पाउन बाँकी छ । तर चालु आवमा पुल योजनाका लागि रु १८ करोड मात्रै बजेट आएको महाकाली पुल योजना कार्यालय महेन्द्रनगरका प्रमुख रामबहादुर गुरुङले जानकारी दिए ।

Navadurga sun
Godawari sandesh

“गत वर्ष पनि बजेट अभावकै कारण निर्माण व्यवसायीले गरेको कामको भुक्तानी गर्न सकिएको छैन,” गुरुङले भने, “चालु आवमा आएको बजेटले निर्माण व्यवसायीलाई तिर्न पुग्दैन ।” उनले बजेट थपका लागि विभाग र मन्त्रालयमा पेश गरेको बताए ।

Dadeldhura hospital

पुल निर्माणको भौतिक प्रगति ९२ प्रतिशत भइसकेको छ । तर पुलसँगै बन्ने अन्य संरचनाका लागि पर्याप्त बजेट विनियोजिन नहुँदा निर्माण व्यवसायीले काम गर्न सक्ने अवस्था नरहेको जनाएको छ । महाकाली पुल निर्माण कम्पनी कुमार श्रेष्ठ सिएफइसी जेभीका इञ्जिनीयर किशोर पाण्डेयले काम गरेकै पैसा नै भुक्तानी नहुँदा थप काम गर्न समस्या भएको बताए ।

“पुल निर्माण सम्पन्न भएर आवागमन भइरहेको छ, पुलसँगै बन्ने पहुँच मार्ग र पुलको दुवैतर्फ पोखरी निर्माणाधीन छ,” पाण्डेयले भने, “गत वर्षकै भुक्तानी नभएको अवस्था थप काम गर्न निकै सकस छ ।” उनले काम गरेको भुक्तानी नहुँदा निर्धारित समयमा नै काम सम्पन्न नहुने बताए ।

शनिबार मात्रै भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाले महाकाली पुलको स्थलगत निरीक्षण गरेका थिए । पुलको अवलोकन गर्दै मन्त्री ज्वालाले आर्थिक अभावकै कारण पुल निमार्णको काम नरोकिने प्रतिबद्धता जनाए । “आर्थिक अभावकै कारण पुल निमार्णको काम रोकिने छैन,” उनले भने, “मन्त्रीपरिषद्को निर्णय गराएर पुल योजनालाई आवश्यक बजेटको व्यवस्था गर्छौँ ।”

महाकालीपारिको बस्तीलाई यही पुलले सडक सञ्जालसँग जोडेको छ । विसं २०७४ भदौमा ठेक्का सम्झौता भएर काम सुरु भएको पुल निर्माणको काम २०७७ भदौमा सम्पन्न गर्ने भने पनि काम सम्पन्न नहुँदा म्याद थप गरिएको थियो । विसं २०८० चैतभित्र सबै काम सम्पन्न गर्नुपर्ने भए पनि बजेट अभावका कारण आयोजनाको काम पछि धकेलिँदै गएको छ । रासस

 

Loading...